इटहरी। पहाडी क्षेत्रका ग्रामीण भेगमा मकै भण्डारका लागि परम्परागत रूपमा थाङ्ग्रो हाल्ने प्रचलन हराउँदै गएको छ ।

पछिल्लो केही समययता युवा पुस्ता वैदेशिक रोजगारीका लागि विदेश जाने लहर बढेसँगै गाउँमा खेतीपाती गर्न छोडेपछि मकै भण्डारका लागि परम्परागत रूपमा राखिने थाङग्रोको चलन हराउँदै गएको हो । धनकुटालगायत पहाडी जिल्लामा मकै उत्पानका लागि उर्वर भूमि मानिन्छ । उत्पादन भएको मकै घरमा थाङ्ग्रो हालेर राख्ने गरिन्छ । काठ तथा बाँसको माच बनाएर मकै राख्न थाङ्ग्रो हाल्ने र खोस्टासहितको मकै चाङ वा थाङ्ग्रो लगाएर भण्डारन गर्ने एक परम्परागत माध्यम थियो ।

मकैलाई कीरा, घुन नलागोस् साथै नकुहियोस् भनेर किसानले थाङ्ग्रो हाल्ने गर्दछन् । जिल्लामा पहिले सबैखाले मकै भण्डारन गरिने थाङ्ग्रो अहिले बीउ मकै जोगाउन मात्र किसानले प्रयोग गर्दै आएको पाइन्छ । पहिलेकोजस्तो थाङ्ग्रो हालेर मकै भण्डारन गर्न छाडिएको पाख्रीबास मुगाका कृषक गणेश थापाले बताउनुभयो । 

थाङ्ग्रोले मकै भण्डारन मात्र नभई गाउँघरको स्वभावसमेत बढाउने गरेको पाइन्थ्यो । मकै मुख्य बालीको रूपमा किसानले लगाउँदै आएका हुनाले भण्डारनका लागि सजिलो र छरितो तरिकाले राख्ने गरेको पाइन्छ । थाङ्ग्रो बास वा काठबाट बनाइको भएता पनि गाउँ घरमा पहिलाको जस्तो खेतीपाती गर्ने जनशक्ति नभएका कारण खेतबारी समेत बाँझै रहेको थापाले बताउनुभयो ।