इटहरी। तराईका नदी, पोखरी, तालतलैया, सिमसार तथा चुरेक्षेत्रका खोल्सामा सहजै देखिने कछुवा पछिल्लो समय दुर्लभ बन्दै गएको छ । मानवीय व्रिmयाकलापका कारण कछुवाको वासस्थान क्रमशः मासिँदै जाँदा दुर्लभ बन्दै गएको हो । 

पानीका स्रोत तथा सिमसार अतिक्रमण, वासस्थान खण्डीकरण, अवैध सिकार तथा सङ्कलन, माछा मार्ने क्रममा जालमा पर्ने, विष तथा करेन्टको प्रयोग, सडक निर्माण र जल प्रदूषणका कारण कछुवाको वासस्थान साघुरिँदै गएकोे संरक्षणकर्मी बताउँछन् । नेपालमा कछुवाका १८ प्रजाति अभिलेख गरिए पनि तीमध्ये १२ प्रजाति विश्व संरक्षण सङ्घ ९आइयुसिएन० को सङ्कटापन्न श्रेणीमा रहेका छन् ।   कछुवा तथा सरिसृपसम्बन्धीमा चाइनिज एकेडेमी अफ साइन्सेसबाट विद्यावारिधि गर्दै आउनुभएका अनुसन्धानकर्ता अस्मित सुब्बाका अनुसार कछुवा संरक्षणलाई एउटा जीव बचाउने अभियानका रूपमा मात्र बुझ्न नहुने बताउनुहुन्छ । उहाँका अनुसार कछुवा बाँच्ने पानी, नदी किनार, अन्डा पार्ने बालुवा वा माटो, घाम ताप्ने स्थान, आहारा तथा आसपासको हरियाली संरक्षण गर्न सके मात्र कछुवा संरक्षण प्रभावकारी हुने उहाँको भनाइ छ ।   सरिसृप वर्गमा पर्ने कछुवाका लागि पानीका साथसाथै सुरक्षित नदीकिनार, अन्डा पार्ने बालुवा वा माटो, घाम ताप्ने स्थान, आहारा र प्राकृतिक वनस्पति पनि आवश्यक हुने बताइएको छ । कतिपय प्रजाति पानीमा बढी समय बिताए पनि प्रजननका समयमा नदीकिनारको सुरक्षित स्थानमा निर्भर हुन्छन् । सिमसार पुरिँदै जाने, प्राकृतिक पोखरी तथा जलाशय मासिँदै जाने, नदीकिनारमा अव्यवस्थित संरचना निर्माण हुने र वरपरका वनस्पति हट्दै जाने क्रमले कछुवाको जीवनचक्रमा प्रत्यक्ष असर पार्ने अनुसन्धानकर्ता सुब्बा बताउनुहुन्छ । उहाँका अनुसार सिमसारले वर्षाको पानी सञ्चय गर्ने, जमिनमुनिको पानी पुनर्भरण गर्ने, बाढीको प्रभाव घटाउने तथा विभिन्न जीवजन्तु र वनस्पतिलाई वासस्थान उपलब्ध गराउने भएकाले कछुवाको संरक्षणलाई सिमसार संरक्षणसँग जोडेर हेर्नुपर्ने संरक्षणकर्मीको भनाइ छ ।

जोखिममा नरम खपटे कछुवा  

पूर्वी नेपालमा पाइने नरम खपटे कछुवाका केही प्रजाति मानव गतिविधिका कारण थप जोखिममा परेका छन् । गहिरो नदी, जलाशय तथा सिमसारमा निर्भर हुने यस्ता कछुवाको वासस्थानमा अतिक्रमण बढ्नुका साथै अवैध सिकार, मासु तथा परम्परागत प्रयोग र अवैध व्यापार चुनौतीका रूपमा देखिएको बताइएको छ । सुनसरी, मोरङ, झापा र सप्तरीका नदी तथा सिमसारमा विष वा करेन्ट प्रयोग गरेर माछा मार्ने कार्यले कछुवा र अन्य जलचरलाई समेत असर पु(याउने संरक्षणकर्मी बताउँछन् । माछा मार्ने क्रममा जाल र बल्छीमा परेका कछुवा घाइते हुने, निसास्सिने वा मर्ने जोखिमसमेत बढी हुने बताइएको छ । सडक, बस्ती, कृषि, उद्योग तथा अन्य पूर्वाधार विस्तारका कारण कछुवाको प्राकृतिक वासस्थान टुक्रिदै गएको बताइए छ । ठुलो वासस्थान ससाना क्षेत्रमा विभाजन हुँदा आहारा खोज्न, प्रजनन र सुरक्षित स्थानमा पुग्न कछुवालाई कठिन हुने गरेको अनुसन्धानकर्ता अस्मित सुब्बा बताउनुहुन्छ । कछुवा ढिलो बढ्ने र वयस्क अवस्थामा पुग्न लामो समय लाग्ने भएकाले सङ्ख्या घट्दै गए पुरानै अवस्थामा फर्किन पनि समय लाग्ने सुब्बाको भनाइ छ । 

पूर्वी तराईको चारकोसे झाडी क्षेत्र पछिल्लो समय बस्ती विस्तार, कृषि, सडक तथा अन्य पूर्वाधारका कारण विभिन्न स्थानमा खण्डित भएको छ । वनसँग जोडिएका पोखरी, खोल्सा, नदीकिनार र सिमसारमा हुने परिवर्तनले त्यहाँ आश्रित जलचर तथा वन्यजन्तुलाई समेत असर पार्ने संरक्षणकर्मी बताउँछन् । अनुसन्धानकर्ता सुब्बाले कछुवा पाइने स्थानमा गहिरो पानी, कम मानवीय हस्तक्षेप र प्राकृतिक नदीकिनार संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । कोशीटप्पु क्षेत्रबाहेक सम्भावना भएका अन्य नदी तथा सिमसारमा समेत संरक्षण कार्यक्रम विस्तार गर्नुपर्ने उहाँ सुझाउनुहुन्छ । 

समुदायको सहभागिता आवश्यक

कछुवा संरक्षणमा स्थानीय समुदायको भूमिका महìवपूर्ण मानिन्छ । नदी तथा सिमसारमा विष र करेन्ट प्रयोग गरी माछा मार्ने कार्य रोक्ने, कछुवाका अन्डा तथा बच्चा सङ्कलन नगर्ने, अवैध सिकार तथा व्यापारको सूचना सम्बन्धित निकायलाई दिने र प्राकृतिक पोखरी तथा सिमसार पुरेर बस्ती विस्तार नगर्ने काम स्थानीय तहबाटै सुरु गर्न सके कछुवा संरक्षणमा सहयोग पुग्ने बताइएको छ ।  सन् २००५ मा त्रिभुवन विश्वविद्यालयबाट सरिसृप तथा उभयचरमा नेपालमै पहिलो विद्यावारिधि गर्ने प्रोफेसर डा। कालुराम खुम्बुका अनुसार कछुवा संरक्षणलाई एउटा प्रजाति बचाउने अभियानमा सीमित नगरी सरिसृप तथा उभयचरको समग्र वासस्थान संरक्षणका रूपमा अघि बढाउनुपर्ने बताउनुहुन्छ । त्यसका लागि अनुसन्धान, तथ्याङ्क, सङ्कलन र वासस्थानको नियमित अध्ययन आवश्यक रहेको उहाँको भनाइ छ ।  कछुवाका विभिन्न प्रजातिले वनस्पति, किरा, माछा तथा अन्य जैविक पदार्थ खाने भएकाले खाद्य शृङ्खलामा समेत भूमिका खेल्ने प्राध्यापक खुम्बु बताउनुहुन्छ । उहाँका अनुसार गाउँका पोखरी, खेती नजिकका जलाशय, नदीकिनार र सिमसारको संरक्षण गरे कछुवाको संरक्षण हुने उहाँको भनाइ छ । पोखरीछेउका रुख काट्ने, सिमसार पुर्ने, प्राकृतिक जलाशय नष्ट गर्ने र नदी किनारको बालुवा र माटो अनावश्यक रूपमा हटाउन सके कछुवाको वासस्थान जोगाउन सकिने उहाँ बताउनुहुन्छ ।