इटहरी स्।  नेपाली कांग्रेसको संगठनभित्र लामो समयदेखि सक्रिय वीना कुमारी राईले उदयपुर क्षेत्र नं। १ प्रदेश सभा ‘क’ को सभापति पदमा उम्मेदवारी दिएकी छन्। पार्टीको संगठन निर्माणदेखि महिला सहभागितासम्मका अभियानमा निरन्तर सक्रिय रहँदै आएकी राईले यसपटक प्रदेश तहको नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गरेकी हुन्।

राईको राजनीतिक यात्रा नयाँ होइन। बेल्टार गाउँ विकास समितिको समयदेखि नै नेपाल महिला संघमार्फत कांग्रेसको संगठनमा सक्रिय रहँदै आएकी उनी हाल चौदण्डीगढी नगरपालिकामा नेपाल महिला संघको नेतृत्वमा छिन्। कांग्रेसको विचार र संगठनसँग लामो समयदेखि जोडिँदै आएकी राईले महिला सहभागिता र संगठन निर्माणका विभिन्न गतिविधिमा भूमिका निर्वाह गर्दै आएको बताएकी छन्। नेपाल महिला संघको तेस्रो केन्द्रीय महाधिवेशनमा सहभागी भइसकेकी उनी कांग्रेसको १४औँ महाधिवेशनमा उदयपुर क्षेत्र नं। १ प्रदेश सभा ‘क’ बाट निर्वाचित प्रतिनिधिका रूपमा समेत सहभागी भएकी थिइन्।

पार्टी संगठनमा बिताएको लामो अनुभवलाई आधार बनाएर उनले प्रदेश सभा ‘क’ को नेतृत्वमा दाबी गरेकी हुन्। प्रदेश तहमा संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने तथा पार्टीभित्र महिला सहभागितालाई अर्थपूर्ण रूपमा अघि बढाउने आफ्नो प्राथमिकता रहेको राईको भनाइ छ। राईले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको प्रयासका रूपमा मात्र नहेर्न आग्रह गरेकी छन्। संगठनलाई थप व्यवस्थित, सक्रिय र समावेशी बनाउने उद्देश्यसहित आफू नेतृत्वको प्रतिस्पर्धामा आएको उनको भनाइ छ।

उनको उम्मेदवारीसँगै उदयपुरमा कांग्रेसको प्रदेशस्तरीय संगठनमा महिला नेतृत्वको प्रश्नसमेत चर्चामा आएको छ। लामो समयदेखि महिला संघ हुँदै पार्टी संगठनमा सक्रिय रहेकी राईले प्रदेश सभाको क्षेत्रीय नेतृत्वमा दाबी गरेपछि महिलाको राजनीतिक सहभागितालाई नेतृत्वको तहसम्म पुर्‍याउने बहस पनि जोडिएको छ। राईको चुनावी अभियानको मुख्य सन्देश छ( ‘महिलाको नेतृत्व, समृद्ध समाजको आधार।’ कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुर क्षेत्र नं। १ प्रदेश सभा ‘क’ को नेतृत्व चयनका लागि हुने अधिवेशनमा राईको उम्मेदवारी परेको हो। लामो समय संगठनमा काम गरेको अनुभव, महिला संघसँगको आबद्धता र अघिल्ला महाधिवेशनमा प्रतिनिधिका रूपमा निर्वाह गरेको भूमिकालाई उनले आफ्नो राजनीतिक यात्राको आधारका रूपमा अघि सारेकी छन्।