इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरीका १२ स्थानीय तहमध्ये सात वटामा अधिवेशन सम्पन्न भएको छ ।

जिल्लाका सात स्थानीय तहमा नयाँ नेतृत्व चयन भइसकेको छ भने बाँकी पाँच स्थानीय तहमा अधिवेशनको प्रक्रिया जारी रहेको नेपाली कांग्रेस सुनसरीले जनाएको छ । अधिवेशन सम्पन्न भएका स्थानीय तहमध्ये धरान र इटहरी उपमहानगरपालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । धरान उपमहानगरपालिकामा नरेन्द्रकुमार राई ९प्रवीण० को नेतृत्वमा ३७ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । उपसभापतिमा हिमाल श्रेष्ठ, महिला उपसभापतिमा शिला बज्राचार्य, सचिवमा सागर प्रसाईं र कोषाध्यक्षमा शिखा चेम्जोङ लिम्बु चयन भएका छन् । इटहरी उपमहानगरपालिकामा विकास केसीको नेतृत्वमा सिङ्गो कार्यसमिति निर्विरोध चयन भएको छ। बालकृष्ण विष्टसँगको सहमतिपछि केसीको नेतृत्वमा कार्यसमिति चयन भएको हो। उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत निर्वाचित भएका छन्।

त्यस्तै, सचिवमा सूर्यनारायण चौधरी र सहसचिवमा रोशन तामाङ चयन भएका छन्। कार्यसमितिको कोषाध्यक्षमा दिनेश अधिकारी मनोनीत भएका छन्। त्यस्तै, नगर प्रवक्ताका रूपमा प्रल्हाद दाहाल मनोनीत भएका छन्। दुहबी नगरपालिकामा तारिकचन्द्र सरदारको नेतृत्वमा नगर कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको उपसभापतिमा पिन्की रौनियार र घनश्याम हलुवाई, सचिवमा अब्दुल हसिब तथा सहसचिवमा रञ्जन खतिवडासहित ३४ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । त्यसैगरी, बराहक्षेत्र नगरपालिकामा निर्वाचनबाट रोशन खड्का सभापतिमा विजयी भएका छन् । उनले तेजबहादुर गुरुङलाई पराजित गर्दै सभापति बनेका हुन् । उपसभापतिमा दिनेश राई र मैयाँ आचार्य ९मञ्जु०, सचिवमा युवराज भट्टराई तथा सहसचिवमा सुसना घिमिरे निर्विरोध चयन भएका छन् । त्यस्तै, रामधुनी नगरपालिकामा निर्वाचनबाट लेखनाथ ९भोला० बास्तोला नगर सभापति निर्वाचित भएका छन् ।

उपसभापतिमा किरण चापागाईं, महिला उपसभापतिमा सिर्जना भट्टराई, सचिवमा दोस्तीराम चौधरी र सहसचिवमा शम्भु बस्नेत निर्वाचित भएको जिल्ला सभापति केदार भण्डारीले बताए । कोशी गाउँपालिकामा निर्वाचनमार्फत जमाजुदिन अन्सारी सभापति चयन भएका छन् भने बर्जु गाउँपालिकामा मनोजकुमार गच्छदारको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको छ । जिल्ला सदरमुकाम इनरुवा नगरपालिकामा भने अन्य पदमा सहमति जुटे पनि सभापति र सचिव पदमा निर्वाचन हुने भएको छ । सभापतिमा खेम थापा, योगेन्द्र मेहता र रोशन खड्काबीच प्रतिस्पर्धा हुँदैछ भने सचिवमा सत्य यादव र सन्तोष शर्मा चुनावी मैदानमा छन् । बाँकी भोक्राहा नरसिंह, गढी, देवानगञ्ज, हरिनगर र इनरुवा नगरपालिकामा अधिवेशनको प्रक्रिया जारी रहेको भण्डारीले बताए ।