विराटनगर : प्रतिबन्धित नेक–सिल लगाइएको प्रशोधित पिउने पानी भण्डारण तथा बिक्री वितरणका लागि राखिएको पाइएपछि विराटनगरको एक पानी उद्योगको गोदाम सिल गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय मोरङ र प्रशोधित पानी उत्पादन संघ मोरङको संयुक्त अनुगमन टोलीले विराटनगर महानगरपालिका–१ बेलगाछीस्थित विराट जल उद्योगको गोदाममा अनुगमन गर्दा यस्तो अवस्था फेला पारेको हो।
अनुगमनका क्रममा मधेश प्रदेशको लहानस्थित के.वि. एण्ड सन्स उद्योगले उत्पादन गरेको १ लिटरको प्रशोधित पिउने पानीका ९० कार्टुन प्रतिबन्धित नेक–सिल लगाइएको अवस्थामा भण्डारण गरिएको पाइएको थियो।
नेपाल सरकार, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको २०८२ चैत ३० गतेको निर्णयअनुसार उक्त नेक–सिल प्रतिबन्धित रहेको जनाइएको छ।
प्रतिबन्धित नेक–सिल लगाइएको पानी भेटिएपछि अर्को निर्देशन नभएसम्मका लागि गोदाम सिलबन्दी गरी उक्त पानीको बिक्री वितरण रोक्का गरिएको अनुगमन टोलीले जनाएको छ।
यस्तै, कानुनबमोजिम पानीको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। सफारीमार्फत ढुवानी भइरहेको ६५ कार्टुन प्रशोधित पानीसमेत जफत गरी कार्यालयको नियन्त्रणमा राखिएको छ।
घटनाबारे थप कारबाहीको प्रक्रिया अघि बढाइएको सम्बन्धित कार्यालयले जनाएको छ।


