इटहरी। हुलाकी सडक खण्डअन्तर्गत मोरङको धनपालथान गाउँपालिका–४ आनन्द इँटाभट्टानजिकै मिनी ट्रकले रोकिराखेको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।
बुधबार राति करिब ८ः५५ बजे रंगेलीबाट विराटनगरतर्फ आउँदै गरेको मे १ क २१० नम्बरको मिनी ट्रकले बाटोमा रोकिराखेको को ३ प २१८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक धनपालथान–४ का अन्दाजी ४० वर्षीय प्रकाश मण्डल गम्भीर घाइते भएका थिए ।
घाइते मण्डललाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएकोमा राति ९ः३५ बजेतिर चिकित्सकले मृत घोषणा गरेको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए । दुर्घटनापछि मिनी ट्रक लिएर चालक फरार भएका थिए ।
प्रहरीले खोजी गर्ने क्रममा ट्रकसहित चालक मोरङको कटहरी गाउँपालिका–३ का अन्दाजी २७ वर्षीय विष्णु ताजपुरियालाई कटहरी–४ बाट नियन्त्रणमा लिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय रंगेलीले थप अनुसन्धान गरिरहेको छ ।


