इटहरी : देशभर प्रतिकूल मौसमका कारण हावाहुरी, चट्याङसहित भारी वर्षाको जोखिम बढेपछि इटहरी उपमहानगरपालिकाका सबै विद्यालय दुई दिनका लागि बन्द हुने भएका छन्।

इटहरी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयअन्तर्गत शिक्षा, युवा तथा खेलकुद महाशाखाले बिहीबार सूचना जारी गर्दै असोज ८ र ९ गते दुई दिन पालिकाभित्रका सम्पूर्ण विद्यालय बन्द रहने जनाएको छ। जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण एवं शिक्षा तथा खेलकुद मन्त्रालयबाट जारी पूर्वानुमान तथा सूचनालाई ध्यानमा राख्दै उक्त निर्णय लिइएको महाशाखाले जनाएको छ।

महाशाखाका अधिकृतस्तर आठौँ रमेशकुमार शाहका अनुसार उपमहानगरपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक, संस्थागत (निजी) तथा धार्मिक विद्यालयमा असोज ८ र ९ गते दुई दिन 'मिनपचास' (हिउँदे) बिदाबाट कट्टा हुने गरी बिदा दिइएको हो। महाशाखाले अभिभावक, विद्यार्थी तथा सरोकारवालालाई मौसमको सम्भावित जोखिमबाट सुरक्षित रहन र सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।