इटहरी। जनसहभागितामा आधारित जलाधार व्यवस्थापनको अभ्यासका लागि धनकुटा नगरपालिकाले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा सञ्चालित निबुवा–ताँखुवा जलाधार व्यवस्थापनको सहभागितामूलक अभ्यासलाई अन्तर्राष्ट्रिय सहभागितामूलक लोकतन्त्र पर्यवेक्षण संस्था ९ओआइडिपी० ले विशेष सम्मान प्रदान गरेको हो । स्थानीय तहमा नागरिक सहभागिताको उत्कृष्ट अभ्यासलाई सम्मान गर्ने २० औँ ओआइडिपी अवार्ड अन्तर्गत धनकुटा नगरपालिकालाई ‘पारिस्थितिकीय रूपान्तरण तथा वातावरण विधामा विशेष सम्मान’ प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ । 

पोल्यान्डको क्राकोभस्थित आइसिई क्राकोभ कंग्रेस सेन्टरमा मङ्गलबार आयोजित अवार्ड समारोहमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले नगरपालिकाको तर्फबाट सम्मान ग्रहण गर्नुभयो । सम्मान ग्रहण गर्दै नगरप्रमुख तामाङले प्राप्त सम्मान धनकुटा नगरपालिकाको मात्र नभई निबुवा–ताँखुवा क्षेत्रका समुदाय, स्थानीय नागरिक तथा जलाधार संरक्षणमा सहभागी सरोकारवाला निकायको योगदानको सम्मान भएको बताउनुभयो । यीलगायत यस्ता सम्मानले धनकुटेली जनतालाई ऊर्जा थप्ने उहाँको भनाइ छ । जलवायु तथा वातावरणीय चुनौती समाधान गर्न स्थानीय समुदायलाई योजनाको लाभग्राहीका रूपमा मात्र नभई निर्णय, योजना निर्माण र कार्यान्वयनका सव्रिmय साझेदार बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । धनकुटा नगरपालिकाका लागि प्राप्त अन्तर्राष्ट्रिय सम्मानले स्थानीय सहभागिता, वातावरण संरक्षण तथा जलवायु उत्थानशीलतामा आधारित स्थानीय शासनको अभ्यासलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने अवसरसमेत दिएको बताइएको छ ।

अवार्डका लागि विश्वका विभिन्न देशका स्थानीय तथा क्षेत्रीय सरकारबाट १७६ वटा प्रस्ताव प्राप्त भएकोमा ४० वटा अभ्यास अन्तिम चरणका लागि छनोट भएका थिए । छनोट भएका अभ्यासमध्ये धनकुटा नगरपालिकाको निबुवा–ताँखुवा जलाधार व्यवस्थापन अभ्यासलाई वातावरण तथा पारिस्थितिकीय रूपान्तरणसम्बन्धी विधामा विशेष सम्मान प्रदान गरिएको हो । ओआइडिपी स्थानीय तहमा लोकतन्त्र र नागरिक सहभागितालाई सुदृढ बनाउन तथा विभिन्न स्थानीय सरकारका नवीन अभ्यास आदानप्रदान गर्न काम गर्ने अन्तर्राष्ट्रिय सञ्जाल हो । हरेक वर्ष ओआइडिपीले नागरिक सहभागिता, स्थानीय लोकतन्त्र, वातावरण तथा दिगोपनासहितका विभिन्न क्षेत्रमा उत्कृष्ट अभ्यासलाई सम्मान गर्दै आएको छ ।

जलाधार व्यवस्थापन 

 निबुवा–ताँखुवा जलाधार व्यवस्थापनको अभ्यासमा स्थानीय समुदायको ज्ञान, अनुभव र सहभागितालाई वैज्ञानिक तथा प्राविधिक ज्ञानसँग जोडेर जलस्रोत संरक्षण, भूमि व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, विपत् जोखिम न्यूनीकरण तथा स्थानीय संस्थागत सहकार्यलाई अघि बढाइएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड० को सहयोग तथा विभिन्न साझेदार संस्थाको समन्वयमा जलाधार व्यवस्थापनको काम आर्थिक वर्ष २०७७र७८ देखि धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा सञ्चालन हुँदै आएको छ । 

जलाधार व्यवस्थापनमा स्थानीय समुदायलाई योजनाको लाभग्राहीका रूपमा मात्र नभई समस्या पहिचान, योजना निर्माण, निर्णय तथा कार्यान्वयनमा समेत सहभागी गराइएको धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारी जानकारी दिनुभयो । स्थानीय समुदायको परम्परागत ज्ञान र अनुभवलाई प्राविधिक ज्ञानसँग जोडेर जलस्रोत तथा भूमि संरक्षणका उपाय अघि बढाइएको अधिकारीको भनाइ छ । जलवायु परिवर्तनका कारण बढ्दै गएको वातावरणीय चुनौती तथा विपत्को जोखिम न्यूनीकरणका लागि स्थानीय तह, सरकारी निकाय, प्राविधिक संस्था, विकास साझेदार र समुदायबिच सहकार्यलाई समेत यस अभ्यासले जोड दिएको धनकुटा नगरपालिकाले जनाएको छ ।