इटहरी। मौसमविद्ले वर्षाको पूर्वानुमान गरेसँगै जिल्ला प्रशासन कार्यालय इलामले आज बेलुकादेखि रातको समयमा जिल्लाका सबै सडकमा सवारी आवागमनमा रोक लगाएको छ।
वर्षापछि हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मेची राजमार्गसहित जिल्लाका सबै ग्रामीण सडकमा उच्च जोखिम रहेको भन्दै प्रशासनले रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो। प्रशासनले असोज ८ गते रातिदेखि ११ गतेसम्म प्रत्येक दिन बेलुका ७ देखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको जनाएको छ। अत्यावश्यक यात्रा गर्नुपरे प्रहरी र प्रशासनसँग समन्वय गरेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो।
गत वर्ष असोज १८ गते रातिको वर्षापछि आएको बाढी र पहिरोका कारण जिल्लाका अधिकांश सडकमा उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको प्रजिअ ढकालले बताउनुभयो। गत वर्षको बाढीपहिरोपछि मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडकखण्डमा अझै पूर्ण रूपमा सवारी सञ्चालन हुन सकेको छैन। यस्तै, उक्त खण्डको विकल्पका रूपमा रहेको सिमलगोलाई–तिल्केनी कच्ची सडकअन्तर्गत पर्ने जोगमाई खोलामा भारत सरकारको सहयोगमा निर्माण हुने भनिएको बेलीब्रिज अझै निर्माण हुन सकेको छैन।
यता, वैकल्पिक सडकका रूपमा रहेको इलाम–झापा जोड्ने केचना–कञ्चनजङ्घा सडकमा पनि निर्माणको काम नसकिँदा हिलोका कारण यात्रा गर्न सहज नभएको बताइएको छ। यसैबीच, हिजो साँझदेखि इलाम जिल्लाभर निरन्तर वर्षा भइरहे पनि अहिलेसम्म जनजीवन सामान्य रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।


