इटहरी। मौसम पूर्वानुमान महाशाखाले ठुलो वर्षा हुने प्रक्षेपण गरेपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङसहित यहाँका स्थानीय तहले सतर्कता अपनाउन आग्रह गरेका छन् । असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म जिल्लावासी तथा आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयसहित ताप्लेजुङका नौ वटै स्थानीय तहले बुधबार सूचना जारी गर्दै शुक्रबार, शनिबार र आइतबार तीन दिनसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । उक्त अवधिमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेकाले सम्भावित विपत्बाट जोगिन आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सबै पक्षलाई आग्रह गरेका छन् । मनसुनजन्य विपत्को जोखिम उच्च रहेको र जिल्लाका अधिकांश स्थानमा कच्ची सडक रहेकाले अत्यावश्यकबाहेक उक्त अवधिमा सवारीसाधन सञ्चालन नगर्नरनगराउन सम्बन्धित यातायात व्यवसायीलाई आग्रह गरिएको छ । यस्तै जोखिमको सङ्केत देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जान र तत्काल स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्न पनि आम नागरिकलाई अनुरोध गरिएको छ ।

नदी तथा खोला किनार, पहिरोको जोखिमयुक्त स्थान, भिरालो जमिन तथा बाढी आउन सक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । त्यस्तै कञ्चनजङ्घा क्षेत्रका् भ्रमणमा रहेका पर्यटक तथा पदयात्रीलाई पनि तत्काल भ्रमण यात्रा रद्द गर्न र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ । यसैगरी जिल्लाका यातायात व्यवसायी तथा सवारी चालकले मौसमसम्बन्धी जानकारी लिएर मात्र सवारीसाधन सञ्चालन गर्न सचेत गराइएको छ । कुनै विपत्सम्बन्धी घटना भई हालेमा तत्काल सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउनसमेत प्रशासन कार्यालयले आग्रह गरेको छ । यता जिल्लामा बुधबार बेलुकादेखि नै वर्षा हुन थालेको छ ।