मोरङ । बुढीगंगा गाउँपालिका मोरङका वडा नम्बर ५ र ७ मा दलित समुदायका महिलालाई केन्द्रित गरी समूह तथा समिति गठन र अन्तरक्रिया कार्यक्रम गरिएको छ। महिलाका इच्छा, आवश्यकता तथा समस्या पहिचान गर्दै उनीहरूलाई महिला सशक्तीकरण, सीप विकास तथा बचत गर्ने बानीसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

अन्तरक्रियामा सहभागी महिलाहरूले आर्थिक तथा सामाजिक रूपमा आत्मनिर्भर बन्न सीपमूलक तालिमको आवश्यकता रहेको बताएका छन्। उनीहरूले पालिकाका केही परिवारमा अझै शौचालयको अभाव रहेको भन्दै त्यस्ता परिवारको पहिचान गरी शौचालय निर्माणमा सहकार्य गर्न पालिकासँग माग गरेका छन्।

महिलाहरूले स्थानीयस्तरमै रोजगारी तथा आयआर्जन गर्न सक्ने गरी सिलाइ–कटाइ, ब्युटी पार्लर, कृषि, पशुपालन, उद्यमशीलता लगायतका सीपमूलक तालिम सञ्चालन गर्नुपर्ने मागसमेत राखेका छन्। नियमित बचत गर्ने बानीको विकास गरी समूहमा आबद्ध महिलाहरूलाई सामूहिक रूपमा आर्थिक गतिविधिमा जोड्नुपर्ने उनीहरूको भनाइ छ।

कार्यक्रममा बुढीगंगा गाउँपालिका मोरङका प्रमुख प्रशासकीय अधिकृत प्रयाश भट्टराईले महिलाहरूले उठाएका माग र समस्यालाई स्थानीय तहले प्राथमिकताका साथ सम्बोधन गर्ने बताउनुभयो। महिलाको आर्थिक सशक्तीकरणका लागि सीप विकास तथा आयआर्जनका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने र आवश्यकताका आधारमा पालिकाबाट सहकार्य गर्ने उहाँले बताउनुभयो।

त्यस्तै, गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख निश्चलता कार्कीले महिलाका वास्तविक आवश्यकता पहिचान गरेर कार्यक्रम सञ्चालन गर्दा त्यसको प्रभाव अझ प्रभावकारी हुने बताउनुभयो। समूहमा आबद्ध महिलालाई नियमित बचत, सीप विकास र उद्यमशीलतासँग जोड्दै आत्मनिर्भर बनाउनेतर्फ शाखाले आवश्यक समन्वय गर्ने बताउनुभयो।

अन्तरक्रियाबाट प्राप्त महिलाहरूका सुझाव तथा मागलाई आगामी कार्यक्रम निर्माण र कार्यान्वयनमा समेटिने जनाइएको छ। कार्यक्रमले दलित समुदायका महिलालाई संगठित गर्दै उनीहरूको नेतृत्व विकास, आर्थिक सशक्तीकरण तथा सामाजिक सहभागिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।