इटहरी स्  झापामा भदौ महिनामा २५ वटा विपद्का घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार ती घटनाबाट करिब १९ लाख ४५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।

विपद्का घटनामा मानवीय मृत्यु नभए पनि एक जना घाइते भएका छन्। घटनामा परेका तथा प्रभावित ६९ जनालाई प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए। भदौमा झापामा बाढी र पहिरोजस्ता घटना नभए पनि जंगली जनावरको आक्रमण विपद्को प्रमुख कारण बनेको प्रहरीको तथ्यांकले देखाएको छ। कुल २५ विपद्का घटनामध्ये १७ वटा जंगली जनावरको आक्रमणसँग सम्बन्धित छन्। जंगली जनावरको आक्रमणका घटनामा एक जना घाइते भएका छन् भने ५५ जनालाई प्रहरीले उद्धार गरेको छ। यस्ता घटनाबाट मात्रै ६ लाख ३५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीको विवरण छ।

जिल्लामा भदौ महिनामा आगलागीका घटना पनि उल्लेख्य देखिएका छन्। विभिन्न स्थानमा सात वटा आगलागीका घटना भएका छन्। आगलागीबाट मात्रै १२ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसैगरी, चट्याङका कारण पनि क्षति भएको छ। भदौमा चट्याङको घटनाबाट एक लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीको तथ्यांक छ। यसरी हेर्दा भदौमा भएका विपद्का घटनामध्ये जंगली जनावरको आक्रमणको संख्या सबैभन्दा बढी भए पनि आर्थिक क्षतिको हिसाबले आगलागीका घटना अगाडि देखिएका छन्। प्रहरीका अनुसार जंगली जनावरको आक्रमण, आगलागी र चट्याङलगायतका विपद्का घटना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अवाले विपद्का घटना भएको अवस्थामा तत्काल उद्धार तथा राहतका लागि प्रहरी टोलीलाई चौबीसै घण्टा उच्च सतर्क अवस्थामा राखिएको बताए। उनका अनुसार विपद्को सूचना प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी परिचालन गरी उद्धार तथा आवश्यक समन्वयको काम गरिँदै आएको छ। झापा भौगोलिक तथा प्राकृतिक विविधताका कारण बाढी, डुबान, आगलागी, चट्याङ तथा जंगली जनावरको आक्रमणको जोखिममा रहने जिल्ला हो। भदौमा बाढी र पहिरोका घटना नदेखिए पनि जंगली जनावरको आक्रमण र आगलागीका घटनाले स्थानीय तहमा विपद् व्यवस्थापन र पूर्वतयारीको आवश्यकता कायमै रहेको प्रहरीको तथ्यांकले देखाएको छ।