इटहरी। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सडकको दुरवस्थामा सुधार आएको छैन । पाथीभरा क्षेत्रको तल्लोफेदी काफ्लेपाटीसम्म ट्र्याक छिचोलिएको डेढ दशकसम्म पनि सडकको दुरवस्था उस्तै छ । विसं २०६८ सालमा काफ्लेपाटीसम्म ट्र्याक छिचोलिएको र कुनै समय एकै दिन हजारौँ सवारीसाधन गुढ्ने गर्थे । सडकको स्तरोन्नतिमा ध्यान नदिँदा असहज भएको छ । 

हालसम्म सडक स्तरोन्नति तथा स्तरवृद्धि गर्ने कामको जिम्मा लिने निर्माण व्यवसायीको लापर्बाही र नियामक निकायको फितलो उपस्थितिले सडकको अवस्थामा सुधार आउन नसकेको हो । डेढ दशकअघि ट्र्याक निर्माण भएदेखि नै पाथीभरा सडकको दुरवस्था कायम रहँदा सबैभन्दा बढी तीर्थयात्रुलाई सास्ती भएको छ । अहिलेसम्म सडकको अवस्थामा सुधार नहुँदा हरेक वर्ष पाथीभरा दर्शन गर्न आउने लाखौँ भक्तजन तथा धार्मिक पर्यटकले ज्यानको जोखिमसँगै हैरानी खेप्दै यात्रा गर्न बाध्य हुनु परेको छ । बर्खा मौसममा हिलो र हिउँदमा धुलोका कारण भक्तजनसहितका यात्रुलाई सास्ती हुने गरेको छ । पाथीभरा सडक अन्तर्गत गुप्ते, देउरालीलगायत बस्तीका बासिन्दालाई समेत हिलो र धुलोले हैरानी भएको छ ।

बर्सैभर भक्तजनको आउजाउ हुने भए पनि दसैँतिहार र चैते दसैँ रामनवमी पर्वको समय पाथीभरा दर्शन गर्ने मुख्य मौसम भएकाले अधिक भक्तजन आउने गर्छन् । यस वर्ष पनि पाथीभरा दर्शन गर्ने मुख्य अर्थात् दसैँतिहार नजिकिँदै गर्दा पाथीभरा सडक बेहालकै अवस्थामा छ । सुकेटारदेखि काफ्लेपाटीसम्म नै ठाउँ ठाउँमा ठुलठुला खाल्डाखुल्डी रहेको र सामान्य वर्षा हुनेबित्तिकै सडक हिलाम्मे हुने भएकाले यातायात सञ्चालनमा कठिनाइ रहेको छ । पाथीभरा दर्शनका लागि आउजाउ गर्ने भक्तजनका कारण अधिक सवारी चाप हुने सडकको स्तरोन्नतिसँगै स्तरवृद्धि ९कालोपत्रे० गर्न सुरु भएको पाँच वर्षमा पनि काम सम्पन्न नगरिएको हो । पाथीभरा सडकको सुकेटार–काफ्लेपाटी खण्ड १०।९६६ किलोमिटर दुरीको सडक कालोपत्रे गर्नलाई २०७८ सालमा नै ठेक्का लागेको हो । ताप्लेजुङस्थित तमोर कोरिडोर ९सुभाङखोला–दोभान–ओलाङचुङ्गोला० सडक योजनाका प्रमुख डिजिभनल इन्जिनियर सिंहबहादुर विष्टका अनुसार कन्टेक प्रालिलाई २०७८ पुस ११ गते कालोपत्रे गर्ने कामको सम्झौता गरी सडक स्तरवृद्धि गर्ने जिम्मा लगाएको हो । सुरुको सम्झौताको समयावधि सकिएपछि दुई पटकसम्म म्याद थप्दासमेत सडक कालोपत्रे गर्ने कामको भौतिक प्रगति हालसम्म करिव ४० प्रतिशत मात्र भएको योजना प्रमुख विष्टको भनाइ छ । 

उहाँका अनुसार पहिलो पटक थपिएको एक वर्षको म्याद सकिएपछि दोस्रो पटक पुनः एक वर्षको म्याद भएको छ । दोस्रो पटक थप भएको म्याद पनि आगामी मङ्सिर २५ गते सकिने तमोर कोरिडोर सडक योजनाले जनाएको छ । मङ्सिरसम्ममा सडक निर्माणको भौतिक प्रगति ५० प्रतिशतभन्दा बढी भएमा मात्र तेस्रो पटक म्याद थप्न सकिने सडक योजना प्रमुख विष्टले जानकारी दिनुभयो ।  हाल ठेक्का तोडिन सक्ने दबाबका बिच निर्माण कम्पनीले काम गरिरहेको र पाथीभरा दर्शनको मुख्य मौसम दसैँतिहारको समयमा सहज यातायात सञ्चालन हुने गरी खाल्डाखुल्डी पुरेर सडक सम्याउने गरी समन्वय भइरहेको विष्टले बताउनुभयो । आउँदो मङ्सिर सम्ममा सुकेटारदेखि देउराली खण्डसम्म करिव चार किलोमिटर सडक कालोपत्रेको काम सम्पन्न गर्ने निर्माण पक्षको प्रतिबद्धता रहेको र सो प्रतिबद्धता पूरा नभएमा त्यसपछि म्याद नथपिने र ठेक्का तोडिन सक्ने पनि उहाँले बताउनुभयो । 

यता निर्माण कम्पनी कन्टेक प्रालिका सञ्चालक एवं प्रवन्ध निर्देशक हरिबाबु पन्तले पनि चालु आर्थिक वर्ष अर्थात् आगामी असारभित्र जसरी भए पनि पाथीभरा सडक कालोपत्रेको काम सम्पन्न गर्ने बताउनुभयो । वातावरणीय र मौसमी असरका कारण समयमा काम गर्न नसकेको बताउँदै निर्माण व्यवसायी पन्तले २०८४ सालको साउनदेखि कालोपत्रे वा पक्की सडकमा सवारीसाधन कुद्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले यहाँको मौसमसँगै निर्माणको काम सुरु गरेपछि पूरै सडकमा कालोपत्रे गर्न असम्भव देखिएपछि करिव चार किलोमिटर दुरीमा ढलान गर्ने गर्ने गरी सुरुको एलाइनमेन्ट परिवर्तन गर्नुपर्ने भएकाले पनि काममा ढिलो भएको बताउनुभयो । भूगर्वविद्समेतको उपस्थितिमा भर्खरै सडक क्षेत्रको अध्ययन गरिएको र सो अध्ययनको प्रतिवेदनपछि सम्बन्धित निकायमा समन्वयसमेत गरेर कामको गतिलाई तीव्रता दिँदै लक्ष्य अनुसार काम सम्पन्न गर्ने पन्तले बताउनुभयो । 

सडकको काम समयमा नभएको र सुरुदेखि अहिलेसम्म नै सडकको दुरवस्थाले भने यात्रु तथा आमनागरिकस्तरमा आक्रोश उत्पन्न गराएको छ । सडक निर्माण गर्ने जिम्मा पाएको निर्माण पक्ष र नियामक निकायप्रति नै यतिबेला सामाजिक सञ्जाललगायतमा नागरिकले आक्रोश पोखिरहेका छन् । सडक निर्माणमा ढिलासुस्ती भएकोबारे निष्पक्ष छानबिन गर्न र आवश्यक कदम चाल्नका लागिसमेत नागरिकले सरकारसमक्ष माग गरिरहेका छन् ।