इटहरी स् कोशी प्रदेशमा डेंगु संक्रमण फैलिने क्रम बढ्दै गएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार झापा डेंगु संक्रमणको सबैभन्दा बढी प्रभावित जिल्ला बनेको छ।

जनस्वास्थ्य अधिकृत स्मृति लुईँटेलका अनुसार सन् २०२६ सेप्टेम्बर १९ सम्म प्रदेशका १३ जिल्लामा गरी ७९३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। त्यसमध्ये झापामा मात्रै २२८ जनामा संक्रमण देखिएको छ। झापापछि सुनसरीमा २०३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। यस्तै ओखलढुंगामा १२२, खोटाङमा ८२, पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, संखुवासभामा १८, मोरङमा २०, धनकुटामा चार, सोलुखुम्बुमा तीन, तेह्रथुममा तीन र ताप्लेजुङमा एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

सोही अवधिमा विभिन्न जिल्लामा डेंगु संक्रमणका ५१ सम्भावित र दुई शंकास्पद बिरामी अस्पतालमा रहेको लुईँटेलले जानकारी दिइन्। डेंगु संक्रमणको जोखिम बढ्दै गएपछि लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियानलाई प्रभावकारी बनाउनुपर्ने स्वास्थ्य निर्देशनालयले जनाएको छ। लुईँटेलले संक्रमण नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने लगायतका अभियान सञ्चालन आवश्यक रहेको बताइन्।