इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान ५ः५० बजे करेन्ट लागेर २० वर्षीय शिवम विकको मृत्यु भएको हो ।  मेसिन चलाउने क्रममा करेन्ट लागेर विक घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि इटहरी सामुदायिक अस्पताल लगिएको थियो ।

त्यहाँबाट थप उपचारका लागि बुढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो ।  विराट शिक्षण अस्पतालमा चिकित्सकले ६ः१२ बजे विकलाई मृत घोषणा गरेको सुनसरी प्रहरीले जनाएको छ । उदयपुरको चौदण्डीगढी गाउँपालिका घर भएका विक निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा काम गर्दै आएका थिए । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।