इटहरी । मिक्लाजुङ गाउँपालिकाको आयोजना तथा ‘विपन्नका लागि स्वस्थ नेपाल’को सहकार्यमा मिक्लाजुङ–मधुमल्ला अस्पतालमा बृहत् विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ।

असोज ३ गते आयोजित शिविरमा मुटु, बालरोग, बाल शल्यचिकित्सा, नाक–कान–घाँटी तथा आन्तरिक रोगसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो। शिविरमा कुल ७ सय ४७ जनाको स्वास्थ्य परीक्षण गरिएको मधुमल्ला अस्पतालका प्रमुख डा. आशिष तामाङले जानकारी दिनुभयो। वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. अनिल भट्टराईको नेतृत्वमा सञ्चालित शिविरमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूले सेवा दिएका थिए। प्रा. डा. अनिल भट्टराईले मुटुरोग, सह–प्राध्यापक डा. दिनेशप्रसाद कोइरालाले बालरोग तथा बाल शल्यचिकित्सा र डा. मिलन भुसालले ईएनटी एवम् आन्तरिक चिकित्सा सम्बन्धी सेवा प्रदान गर्नुभएको थियो।

शिविरमा बिरामीहरूलाई ईसीजी तथा इको परीक्षणका साथै मुटुरोग र मधुमेहका आवश्यक औषधिहरू निःशुल्क वितरण गरिएको थियो। गाउँमै विशेषज्ञ उपचार पाएपछि खुसी व्यक्त गर्दै स्थानीय सेवाग्राही ओम खनालले अब उपचारका लागि काठमाडौँ धाउनुपर्ने बाध्यताबाट राहत मिलेको बताउनुभयो।

गाउँपालिका अध्यक्ष बबिकुमार राईले नागरिकलाई सहज, सुलभ र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन शिविर सञ्चालन गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता स्वास्थ्य सेवाहरूलाई गाउँस्तरमै विस्तार गर्दै निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।