इटहरी। कुनै समय २७ घरमा चुलो बल्ने बर्मेगाउँ अहिले १२ घरमा सीमित भइसकेको छ । यो गाउँका १५ घरमा ताला झुन्डिएका छन् । कतिपय घरका छाना मक्किएका छन् भने केही घर गाईवस्तु बाँध्ने ग्वालीमा परिवर्तन भइसके । विकास र आधारभूत सुविधाको पर्खाइमा रहेको यो बस्तीबाट पछिल्ला वर्षमा परिवारहरू बसाइँ सर्दै गएपछि बर्मे क्रमशः रित्तिँदै गएको हो ।

याङवारक गाउँपालिका–२ मा पर्ने बर्मेका १२ घरमा अहिले ६३ जना नागरिक छन् । सडक, स्वास्थ्य संस्था र माथिल्लो तहको विद्यालय गाउँमै नहुँदा यहाँको दैनिक जीवन कठिन छ । गाउँमा जन्मिएका बालबालिकाले पाँच कक्षापछि पढाइलाई निरन्तरता दिनसमेत गाउँ छाड्नुपर्ने अवस्था छ । सदरमुकाम फिदिमबाट यहाँ आइपुग्न १०९ किलोमिटर यात्रा गर्नु पर्छ । फिदिमबाट गाउँपालिका केन्द्र थर्पु हुँदै ओयाम, फलैँचा, च्याङथापु र तिमतिम्बु भएर बेतेनीसम्म करिब सय किलोमिटर सवारीसाधनमा आइपुगेपछि पाँच घण्टा पैदल हिँड्दा मात्रै यहाँ आइपुगिन्छ । ताप्लेजुङतर्फबाट जाने हो भने पाँचथरको फलैँचाबाट इङ्वाखोला तरेर सिदिङ्वा गाउँपालिका–२, सादेवाको कालीखोला ९श्यामटार० पुगिन्छ । त्यहाँबाट दुई वटा खोला पार गरेपछि झन्डै दुई घण्टामा बर्मे आइपुगिन्छ तर वर्षामा श्यामटारसम्म पनि सवारीसाधन सहज रूपमा चल्दैनन् ।

गत वर्षदेखि श्यामटारसम्म ट्याक्टरले खाद्यान्न र उपभोग्य सामग्री पुर्‍याउन थालेका छन् । उपभोग्य सामग्री ढाकरमा बोकेर बर्मे पुर्‍याउनु पर्छ । बिरामीलाई उपचारका लागि लैजानु पर्दा पनि यही समस्या दोहोरिन्छ । ढुवानी महँगो हुँदा दैनिक उपभोगका वस्तुको मूल्य पनि चर्को छ । बर्मेसम्म ल्याउँदा चामल प्रतिकिलो एक सय रुपियाँ, नुन ४० रुपियाँ र खानेतेल प्रतिलिटर चार सय रुपियाँ पर्ने स्थानीय अगुवा प्रेम राईले बताउनुभयो । 

सेवाका लागि पाँच घण्टा 

बर्मेमा रहेको तिम्बुपोखरी आधारभूत विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ । विद्यालयमा अहिले सात जना विद्यार्थी र दुई जना शिक्षक छन् । पाँच कक्षा उत्तीर्ण गरेपछि विद्यार्थीले करिब पाँच घण्टा पैदल दुरीमा रहेको गङ्गवाको नारायणी माध्यमिक विद्यालय जानु पर्छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीपबहादुर राईका अनुसार दैनिक आवतजावत गरेर पढ्न सम्भव छैन । त्यसैले छोराछोरी पढाउन अभिभावकले समेत गाउँ छाड्नुपर्ने अवस्था छ ।   उहाँका अनुसार यसअघि बर्मेबाट पाँच कक्षा उत्तीर्ण गरेका धेरै बालबालिकाले त्यसपछि पढाइलाई निरन्तरता दिन सकेका छैनन् । कोही घरको काममा अभिभावकलाई सघाउँछन् भने केही चौँरीगोठमा जाने गरेका छन । स्वास्थ्य संस्था गाउँमा नहुँदा सामान्य उपचारका लागि समेत बर्मेका नागरिकले घन्टौँ हिँड्नु पर्छ । बेतेनीको उपस्वास्थ्य चौकी पुग्न करिब पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ ।गर्भवती महिलाका लागि यो दुरी झन् जोखिमपूर्ण हुन्छ । नियमित गर्भ परीक्षणका लागि समेत लामो दुरी पार गर्नुपर्ने भएकाले धेरै जसो गर्भवती स्वास्थ्य संस्था जाँदैनन् । सुत्केरी हुने समय नजिकिएपछि स्वास्थ्य संस्थाको पहुँच भएको ठाउँमा डेरा लिएर बस्नुपर्ने ५४ वर्षीय चन्द्रमाया राईले बताउनुभयो । स्थानीय प्रेम राईले पनि आफ्ना तीन जना छोराछोरीले समयमा उपचार नपाउँदा ज्यान गुमाएको बताउनुभयो ।

विस्थापित हुँदै परिवार 

बर्मेबाट परिवार बसाइँ सर्ने क्रम पछिल्ला वर्षमा बढेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राईका अनुसार २०७१ सालसम्म गाउँमा २७ घरमा मानिस बसोबास गर्थे । २०७९ मा चूडामणि प्याकुरेल, हर्कप्रसाद भट्टराई, मानवबहादुर भट्टराई, हिमप्रसाद गौतम र बिर्ख राईका परिवार गाउँ सरे । २०८० सालमा पदमबहादुर भट्टराई, श्रीप्रसाद भट्टराई र कुलप्रसाद भट्टराईका परिवारले गाउँ छाडे । यस वर्ष फर्समान प्याकुरेल र बेनुप्रसाद भट्टराईका परिवार पनि फलैँचा बजारमा सरेका छन् । बर्मेबाट बसाइँ सरेकामध्ये अधिकांश च्याङथापु र फलैँचा हुँदै थर्पु, फिदिम र झापासम्म पुगेका छन् । फलैँचाबजारमा यसै वर्ष स्थानान्तरण भएका कृष्ण प्याकुरेलका अनुसार गाउँमा आधारभूत सुविधा पुग्ने आशा लामो समयदेखि रहे पनि अवस्था नफेरिएपछि परिवारले बसाइँ सर्ने निर्णयमा पुग्छन् ।

सडक समस्या 

बर्मेसम्म मोटरबाटो पुर्‍याउन पटक पटक पहल गरिए पनि कठिन भूगोल र बजेटको अभाव मुख्य समस्या रहेको याङवारक–२ का वडाध्यक्ष देउकुमार योङहाङले बताउनुभयो ।बेतेनीसम्म गाडी पुगेको र सेपीदेखि चिङ्मासम्म ट्र्याक खुलेको उहाँले जानकारी दिनुभयो । एक किलोमिटर ट्र्याक खोल्न औसत एक करोड रुपियाँ खर्च भएको उहाँको भनाइ छ । चिङ्मादेखि बर्मेसम्म करिब २० किलोमिटर सडक निर्माण गर्न २० करोड रुपियाँ आवश्यक पर्ने पूर्वाधार विकास कार्यालयका प्राविधिकको अनुमान छ । बर्मे जोड्ने सम्भावना अध्ययनका लागि पाँच लाख रुपियाँ खर्च गरेर सर्वेक्षणसमेत गरिएको उहाँले बताउनुभयो । वडाध्यक्ष योङहाङका अनुसार यो बस्तीसम्म सडक पुर्‍याउन स्थानीयको पहलमा देशविदेशमा रहेका नेपालीबाट आर्थिक सङ्कलन सुरु गरिएको छ ।

बर्मेमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न र आगामी निर्वाचनमा मतदान गर्न पाँच घण्टा हिँडेर बेतेनी पुग्नुपर्ने बाध्यता अन्त्य गर्न गाउँमै मतदान केन्द्र स्थापना गर्ने विषयमा सम्बन्धित निकायसँग संवाद भइरहेको उहाँले बताउनुभयो । याङवारक–२ मा ६८० घरधुरी र तीन हजार १६१ जनसङ्ख्या छ । गत फागुनमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा वडाभर दुई हजार चार सय मतदाता थिए । त्यसमध्ये बर्मेमा ५२ जना मतदाता थिए । मतदान गर्नसमेत उनीहरू पाँच घण्टा पैदल हिँडेर बेतेनी पुग्नुपर्ने अवस्था छ । स्थानीयका अनुसार आफूहरूले निर्वाचित गरेका वडाध्यक्ष र वडा सदस्यले गाउँका समस्या बुझ्ने गरे पनि संसदीय निर्वाचनका उम्मेदवार र निर्वाचित सांसद गाउँ फर्किदैनन् । विकासका आधारभूत सुविधा पुग्ने प्रतीक्षामा रहेको बर्मेमा अहिले बाँकी रहेका १२ परिवारका लागि गाउँमा बसिरहने आधार जोगाउने चुनौती थपिएको छ ।