इटहरी। सुनसरीको विष्णुपादुका क्षेत्रमा बाँदरको आतङ्क बढेपछि किसानले मकै र दाल खेती गर्न छाड्दै गएका छन् । डेढ दशकदेखि बाँदरले बाली खाएर र नष्ट गरेर हैरान बनाएपछि किसानले परम्परागत लगाउँदै आएको बाली घटाउँदै बेसार, अम्रिसो र केरालगायतका खेती लगाउन थालेका छन् ।
विष्णुपादुका क्षेत्र र वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ र २ क्षेत्रमा बाँदरको समस्याले परम्परागत खेती विस्थापित हुँदै गएको छ । कुनै समय मकै, दाल, धान र कोदो उत्पादन हुने खेतबारीमा अहिले वैकल्पिक बाली लगाउने क्रम बढ्दै गएको छ । बाँदरबाट बाली जोगाउन नसक्दा खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने अवस्था आएको वराहक्षेत्र–१, सूर्यकुण्डका अगुवा कृषक अर्जुन कुलुङले बताउनुभयो । धरान उपमहानगरपालिका–२०, विष्णुपादुकाको कार्कीछाप क्षेत्रका स्थानीय सुवासमणि तामाङका अनुसार १५ वर्षअघिसम्म किसानले मकै, कालो दाल र जुनेलो खेती गर्दै आएका थिए । बाँदरले बाली नष्ट गर्न थालेपछि पछिल्लो डेढ दशकयता किसानले मकै र दालखेती गर्न छाडेका हुन् ।
कार्कीछाप क्षेत्रमा पहिले प्रत्येक घरका किसानले मकै र दाल खेती गरेर जीविकोपार्जन गर्दै आएका थिए । अहिले बाँदरबाट बाली जोगाउन कठिन भएपछि किसानले वैकल्पिक खेती अपनाउन थालेका छन् । केरासमेत बाँदरले खाने गरे पनि मकैमा जस्तो धेरै क्षति नगर्ने भएकाले केही किसानले केरा खेती गर्न थालेको तामाङले बताउनुभयो । विष्णुपादुकाको मन्दिर टोलका स्थानीय मदन तामाङले बाँदरको उपद्रवका कारण १० कट्ठा जग्गा छ वर्षदेखि बाँझै राखेको बताउनुभयो । मकै छरे पनि बाँदरले खाइदिने र फलफूलका बिरुवासमेत जोगाउन नसक्ने भएपछि खेती गर्न छाडेको दुःखेसो पोख्नुभयो । तामाङका अनुसार बाँदरले खेतबारीमा मात्रै नभई घरभित्र पसेरसमेत खाद्यान्न लैजाने गरेको छ । अदुवा र बेसारमा तुलनात्मक रूपमा कम क्षति पुर्याए पनि सागसब्जी तथा अन्य बाली जोगाउन कठिन भएको उहाँले बताउनुभयो । पहिले खेतबारीमा बाली रुँग्न परिवारका सदस्य बस्ने गरे पनि अहिले रोजगारी र अध्ययनका लागि परिवारका सदस्य बाहिर जाने भएकाले खेतीको रेखदेख गर्नसमेत समस्या भएको उहाँको भनाइ छ । बाँदरको समस्या र जनशक्तिको अभावले स्थानीयको जीविकोपार्जनमा असर परेको मदन तामाङ बताउनुहुन्छ ।
विष्णुपादुकाको माछामाराडाँडा क्षेत्रमा पनि बाँदरको उपद्रवले मकैखेती प्रभावित भएको छ । स्थानीय ४४ वर्षीय केमराज विश्वकर्माका अनुसार पहिले उहाँका बुवाआमाले धान र मकै खेती गर्दै आउनुभएको थियो । पछिल्लो पाँच वर्षयता बाँदरको आतङ्क अत्यधिक बढेको उहाँले बताउनुभयो । विश्वकर्माका अनुसार अहिले माछामाराडाँडा क्षेत्रमा अधिकांश किसानले बेसार खेती गर्दै आएका छन् । केही किसानले अम्रिसोसमेत लगाएका छन् । उहाँले आफ्नो तीन कट्ठा जग्गामा बेसार खेती गर्नुभएको छ । मल र अन्य आवश्यक सामग्रीको व्यवस्था राम्रो भएमा वार्षिक ३० देखि ४० हजार रुपियाँसम्मको बेसार बिक्री हुने उहाँले बताउनुभयो । आवश्यक मल तथा अन्य सामग्रीको अभावमा भने उत्पादन र आम्दानी घट्ने गरेको उहाँको भनाइ छ ।
पछिल्लो समय माछामाराडाँडा, केउरेनी र आसपासका बस्तीमा खेतीसँगै दैनिक ज्यालादारी तथा निर्माण क्षेत्रमा काम गरेर स्थानीयले जीविकोपार्जन गर्दै आएको विश्वकर्माले बताउनुभयो । विष्णुपादुका क्षेत्रसँगै जोडिएको वराहक्षेत्र–१, सूर्यकुण्ड क्षेत्रमा पनि बाँदरको आतङ्कका कारण किसानले मकै खेती गर्न छाड्दै गएको स्थानीय अगुवा कृषक अर्जुन कुलुङले बताउनुभयो । पहिले डेढ बिघासम्मको जग्गामा मकै र कोदो खेती गर्दै आउनुभएको थियो । बाँदरले बाली नष्ट गर्न थालेपछि अहिले खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने अवस्था आएको उहाँ सुनाउनुहुन्छ । कुलुङले बाँदर आउने क्षेत्रमा १५ कट्ठा जग्गामा मकै खेती गर्न छाडेको १५ वर्ष भइसकेको छ । अहिले घरछेउमा बाँदर कम आउने ठाउँमा मात्रै दुई÷तीन कट्ठामा मकै लगाउने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार बाँदरले मकै पाक्ने बेलासम्म कुर्न नदिने र बालीमा क्षति पुर्याउने गरेको छ ।


