इटहरी। मोरङको उर्लाबारीका प्रतीक मञ्जुल बराइलीको हातले कलमसँगै छिनो र घन उत्तिकै चलाउन सक्छ । निर्जीव ढुङ्गामा छिनो र घनको सहायताले आकृति निकाल्नु र त्यसमा सौन्दर्य भर्नु उहाँको दैनिकी बनेको छ । 

१० वर्षको नहुँदै प्रतीकले छिनो र घन समाउन सिक्नुभयो । बुवा मञ्जुल र आमा कौशिला दुवै मूर्तिकार भएकाले बाल्यकालदेखि नै उहाँलाई मूर्तिप्रति मोह लागेको हो । कसैको घरमा पाहुना जाँदा होस् वा कतै घुम्न निस्कँदा, प्रतीक प्रायः बुवाआमासँगै हुनुहुन्थ्यो । जहाँ पुगे पनि उनीहरूको कुराकानीको मुख्य विषय मूर्तिकला नै हुन्थ्यो । ढुङ्गा खोपेर कसरी आकर्षक आकृति निकाल्ने भन्ने उहाँलाई सानैदेखि चासोको विषय लाग्थ्यो ।  दुई वर्षअघि उहाँले निर्माण गर्नुभएको गणेशको मूर्तिले कोशी प्रादेशिक राष्ट्रिय ललितकला पुरस्कार पाउन सफल भएपछि आत्मविश्वास झनै बढेको प्रतीकको भनाइ छ । उहाँ उर्लाबारीस्थित मञ्जुल मूर्तिकला केन्द्रमा दैनिक करिब नौ घण्टा काम गर्नुहुन्छ । अहिलेसम्म सयभन्दा बढी मूर्ति निर्माण गरिसक्नुभएका उहाँका लागि प्रत्येक ढुङ्गा नयाँ चुनौती र नयाँ सम्भावना बोकेर आउने गर्छ ।

ढुङ्गाको एउटा टुक्राभित्र लुकेको आकृति पहिचान गरेर त्यसलाई छिनो र घनको सहायताले बाहिर निकाल्नु सहज काम होइन । ढुङ्गा फुट्न सक्छ, आकृति बिग्रन सक्छ । त्यसैले यसमा धैर्य, सिप र निरन्तर अभ्यास आवश्यक हुन्छ । केही समय जापानमा काम गरेपछि उहाँ नेपाल फर्किनुभयो । जापानमा विशाल बुद्धमूर्ति निर्माणमा संलग्न बुवाको साधना देखेपछि प्रतीकले आफ्नो भविष्य पनि मूर्तिकलामै देख्नुभयो । बुवाले जापानमा विशाल बुद्धमूर्ति निर्माण गरिरहनुभएको देखेपछि मलाई पनि यही क्षेत्रमा केही गर्नु पर्छ भन्ने लाग्यो,” उहाँ भन्नुहुन्छ । बुवा अहिले जापानमा मूर्तिकला साधनामा हुनुहुन्छ । उहाँले राष्ट्रलाई एक हजार मूर्ति उपहार दिने सपना देख्नुभएको छ । यही लक्ष्य पूरा गर्न बुवा, आमा र प्रतीक तिनै जना आआफ्नो ठाउँबाट निरन्तर खटिरहनुभएको छ ।