इटहरी । सुनसरीको रामधुनी नगरपालिकामा ग्रामथान संरक्षण ऐन निर्माण तथा कार्यान्वयनका विषयमा बृहत् परामर्श गोष्ठी सम्पन्न भएको छ ।
रामधुनी नगरपालिका र लाहूर्निपको आयोजनामा भएको गोष्ठीमा ग्रामथानसँग सम्बन्धित गहदार, जेबार लगायतका पदाधिकारी, थारु कल्याणकारिणी सभा, थारु महिला सभा, थारु बुद्धिजीवी तथा संस्कृतिविद्हरूको सहभागिता रहेको थियो। गोष्ठीमा लाहूर्निपका केन्द्रीय सचिव तथा वरिष्ठ अधिवक्ता भीम राईले सांस्कृतिक भूमि तथा यसको कानुनी र संवैधानिक संरक्षणका विषयमा सहजीकरण गर्नुभएको थियो। त्यस्तै, लाहूर्निप सँग सम्बद्ध आइ–पि–एच–आर–डी का क्षेत्रीय प्रमुख गोपाल देवानले आईएलओ महासन्धि १६९ तथा यु–एन–डि–आर–आई–पि २००७ को आधारमा आदिवासी जनजातिको पहिचान, अधिकार र संरक्षणका विषयमा प्रस्तुति दिनुभएको थियो।
कार्यक्रममा रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरी र उपप्रमुख तारा थापाको समेत उपस्थिति रहेको थियो। सहभागीहरूले ग्रामथान थारु समुदायको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा भएकाले यसको संरक्षणका लागि स्थानीय तहबाट स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको धारणा राखेका थिए ।
गोष्ठीमा रामधुनी नगरपालिकामा प्रस्तुत गरिएको लाहूर्निपको सहयोगमा तयार पारिएको ग्रामथान संरक्षण ऐनलाई आवश्यक छलफल तथा प्रक्रिया पूरा गरी यथाशीघ्र पारित गरेर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सहभागीहरूबीच साझा मत बनेको जनाइएको छ। ग्रामथानको संरक्षण, व्यवस्थापन, सांस्कृतिक अधिकारको सुनिश्चितता तथा भावी पुस्ता सम्म मौलिक परम्परा हस्तान्तरणका लागि स्थानीय कानुन निर्माणलाई प्राथमिकता दिनुपर्नेमा समेत सहभागीहरूले जोड दिएका थिए ।


