इटहरी। राजनीतिक दलका कार्यक्रम भन्नासाथ सभा, भेला, भाषण र संगठन विस्तारका गतिविधि सम्झिने गरिन्छ ।

तर झापाको बाह्रदशी गाउँपालिकामा नेकपा ९एमाले० गाउँ कमिटीले भने राजनीतिक गतिविधिलाई कृषि र उत्पादनसँग जोड्ने फरक अभ्यास थालेको छ । शनिबार बाह्रदशी–५ मा आयोजित ‘गोबर भेला’ त्यसैको एउटा उदाहरण हो । एमाले बाह्रदशी गाउँ कमिटीले बाह्रदशी–५मा अगुवा किसान गंगा काफ्लेले बाँझो जमिनमा तरकारी खेती गरिरहनुभएको छ । सोही जमिनको माटोको उर्वराशक्ति बढाउँदै रासायनिक मल तथा विषादीको प्रयोग घटाएर सकेसम्म प्राङ्गारिक तरकारी उत्पादन गर्ने उद्देश्यले पार्टीले गोबर मल संकलन अभियान अघि बढाएको हो ।

शनिबार काफ्लेको घरमा आयोजना गरिएको गोबर भेलामा गाउँका ७० भन्दा बढी कृषक तथा पार्टीका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमका लागि सहभागीहरू गोबर मलसहित उपस्थित भएका थिए । पार्टीले बाँझो जमिनलाई उत्पादनमा प्रयोग गर्ने र त्यसलाई प्राङ्गारिक खेतीको नमुनाका रूपमा विकास गर्ने उद्देश्यले अभियान अघि बढाएको हो ।

एमाले बाह्रदशी गाउँ कमिटी अध्यक्ष अनिल सापकोटाका अनुसार राजनीतिक दलहरूले किसानका समस्या र कृषि उत्पादनका विषय उठाउँदै आए पनि पार्टीकै संगठनात्मक गतिविधिलाई प्रत्यक्ष उत्पादनसँग जोड्ने अभ्यास भने नभएकाले यो अभ्यास सुरु गरिएको हो ।

कार्यक्रमका हरिबहादुर राजवंशीले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती र क्यान्सरजस्ता गम्भीर रोगका सन्दर्भमा खाद्य उत्पादन प्रणालीमाथि पनि बहस आवश्यक रहेको बताउनुभयो । उहाँले सकेसम्म प्राङ्गारिक तरकारी उत्पादन र उपभोगमा जोड दिनुपर्नेमा जोड दिनुभयो ।