इटहरी। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका खेजेनिमका पहिरो प्रभावित परिवार एकीकृत बस्तीमा बस्न थालेका छन् । खेजेनिमको चवाखु टोलका पहिरो प्रभावित परिवार एकीकृत बस्तीमा बस्न थालेका हुन् ।
खेजेनिम चवाखु टोलका पहिरो प्रभावित परिवार सोही टोलस्थित सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण गरी बस्न थालेका छन् । पहिरोबाट प्रभावित भएका चवाखु टोलका १० परिवार गत जेठ महिनादेखि एकीकृत बस्तीमा बस्न थालेका फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बूले जानकारी दिनुभयो ।
खेजेनिमकै बासिन्दा रहेका गाउँपालिकाका उपाध्यक्ष लिम्बूले चवाखु टोलका पहिरो प्रभावित परिवार सुरक्षित स्थान पहिचान गरी एकीकृत बस्ती निर्माण गरेर बसोबास गर्न थालेका बताउनुभयो । खेजेनिमको तिङ्दुटोलका पहिरो प्रभावित छमध्ये चार परिवार आफ्नै सुरक्षित जग्गामा घर बनाएर बस्न थालेका छन् । चुवाखुका दुई र तिङ्दु टोलका दुई गरी पहिरो प्रभावित चार परिवारले सुरक्षित स्थानमा घर निर्माण गरिरहेका छन् ।
चालु आर्थिक वर्षका लागि पनि बाढीपहिरोबाट प्रभावित परिवारको सुरक्षित आवास निर्माण गर्न ८८ लाख रुपियाँ बजेट विनियोजन भएको पालिकाले जनाएको छ । चालु आवका लागि विनियोजित बजेटले सावादिन र खेजेनिमकै बाढीपहिरो प्रभावित परिवारको आवास संरचना निर्माण गर्ने योजना बनेको उपाध्यक्ष लिम्बूले जानकारी दिनुभयो । चालु आवभित्रै सुरक्षित आवास निर्माण गरी बाढीपहिरोको उच्च जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने गरी प्रव्रिmया अघि बढाएको गाउँपालिका अध्यक्ष राजन लिम्बूको भनाइ छ ।
फक्ताङलुङ गाउँपालिकाका सात वटै वडा बाढीपहिरोको जोखिममा रहेको बताइएको छ । २०८१ साल जेठ ३१ गते खेजेनिम र सावादिनमा मानवीय क्षति तथा दर्जनौँ परिवार विस्थापित हुने गरी पहिरो गएको छ । सो समयमा गएको पहिरोका कारण खेजेनिमको तिङ्दु टोलमा एकै परिवारका चार जनाको मृत्यु भएको थियो ।


