इटहरी। जेनजी आन्दोलनका क्रममा काठमाडौँको केन्द्रीय कारागार, जगन्नाथदेवल सुन्धाराबाट फरार भएका एक कैदीलाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ हुँसेसाँगुका २७ वर्षीय राजकुमार लिम्बू रहेको प्रहरीले जनाएको छ ।
जबरजस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका लिम्बू गत वर्ष भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए । फरार भएपछि दमक नगरपालिका–६ मा लुकिछिपी बस्दै आएको अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शनिवार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रन्जन अवाले बताउनु भयो ।
काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०७९ असार २२ गते जबरजस्ती करणी मुद्दामा लिम्बूलाई १८ वर्ष कैद सजाय, पीडितलाई एक लाख रुपियाँ क्षतिपूर्ति र दुई हजार दुई सय रुपियाँ रुपियाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको थियो । अवालेका अनुसार पक्राउ परेका लिम्बूलाई आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा पठाउने तयारी गरिएको छ।


