इटहरी। लोकसेवाको तयारीका लागि काठमाडौं जानुभएका खोटाङका एक युवाको सपना सडकमा अस्ताएको छ । सडक पार गर्दा मोटरसाइकलको ठक्करले खोटाङका २५ वर्षीय अरुण कटुवालको घटनास्थलमै मृत्यु भएको हो ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका कटुवाल लोकसेवाको तयारीका लागि काठमाडौं पुग्नुभएको थियो । काठमाडौंमा लोकसेवाको कक्षा लिदैँ भक्तपुरमा रहेको काकाको घरमा बस्दै आउनुभएका कटुवालको असोज बिहीबार साँझ मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो ।
भक्तपुरको सानोठिमीस्थित अनुदान चोकमा सडक पार गर्दै गर्नुभएका कटुवाललाई तीव्र गतिको मोटरसाइलले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । खड्गबहादुर कटुवालका एक्लो छोरा अरुण अरुण केही वर्षअघिदेखि लोकसेवाको तयारीमा हुनुहुन्थ्यो ।
अरुणलाई ठक्कर दिने मोटरसाइकल चालक चाँगुनारायण नगरपालिकाका सञ्जय श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक दीपक कार्कीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


