इटहरी स् बैंक खातामार्फत भएको एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद कारोबारको अनुसन्धानका क्रममा सुनसरी प्रहरीले विराटनगरका दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उक्त रकम हुण्डी कारोबारमा प्रयोग भएको आशंकामा अनुसन्धान अघि बढाइएको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५, रानीका ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर–१७ का ३५ वर्षीय सुरजप्रसाद साह छन् । उनीहरूलाई सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले केही व्यक्तिले हुण्डी कारोबार गर्दै आएको विशेष सूचना पाएपछि शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबारमाथि निगरानी थालेको थियो ।
बैंक खाताको विश्लेषण गर्ने क्रममा व्यक्तिगत तथा विभिन्न फर्मका नाममा खोलिएका खाताबाट अन्य व्यक्तिहरूसँगको मिलेमतोमा ठूलो परिमाणमा रकम कारोबार भएको भेटिएको प्रहरीको दाबी छ । हालसम्मको अनुसन्धानबाट एक अर्ब ५७ करोड ६४ लाख ३९ हजार ३४० रुपैयाँ ८१ पैसा बराबरको रकम हुण्डीमार्फत कारोबार भएको देखिएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार बैंक खातामा देखिएको कारोबारको प्रकृति, रकमको प्रवाह र सम्बन्धित व्यक्तिहरूसँगको सम्पर्कलाई आधार बनाएर अनुसन्धान भइरहेको छ । प्रहरीले कारोबारमा प्रयोग भएका बैंक खाता, रकमको स्रोत र गन्तव्य तथा अन्य संलग्न व्यक्तिका विषयमा समेत अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हुण्डीसम्बन्धी कारोबार गर्न नहुने, संगठित अपराध निवारण ऐन, २०७० र सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ० निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी खड्काले बताए । प्रहरीले ठूलो रकम बैंकिङ प्रणालीबाट कारोबार भएको देखिए पनि बैंक खातामा भएको कारोबारकै आधारमा कसुर प्रमाणित नहुने जनाएको छ । अनुसन्धानबाट रकमको वास्तविक स्रोत, प्रयोजन र कारोबारको कानुनी प्रकृति खुलेपछि मात्र कसुर स्थापित हुने र त्यसको अन्तिम टुंगो अदालतको न्यायिक प्रक्रियाबाट लाग्ने प्रहरीले जनाएको छ ।


