इटहरी। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ फावाखोलामा कुकुरको आतङ्क बढेको छ । कुकुरले सर्वसाधारण किसानले पालेका पशुपन्छीमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन् ।
फुङ्लिङ नगरपालिका–११ फावाखोलाका वडाध्यक्ष युवराज भट्टराई ९योगेश० का अनुसार पछिल्लो एक सातायता कुकुरले पशुपन्छीमाथि आक्रमण गर्दै आएका छन् । घरपालुवा तथा सामुदायिक ९भुस्याहा० कुकुरले निरन्तर आतङ्क मच्चाएपछि स्थानीयमा त्रास बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार कुकुरले किसानका घरगोठमै पुगेर पशुपन्छीमाथि आक्रमण गर्ने र मारेर खाने गरेका छन् । बुधबार राति फावाखोला तेम्बेवाका स्थानीय दिलबहादुर इजमले पालेको एउटा बाख्रा कुकुरले मारेको उहाँले जानकारी दिनुभयो । कुकुरले इजमको गोठमै पसेर बाख्रा मारेपछि आधाभन्दा बढी खाएको अवस्थामा भेटिएको उहाँले बताउनुभयो ।
पछिल्लो एक सातामा फावाखोलाका कुलबहादुर बुढाथोकी, त्रिभुवन इजम र रमला विष्टका एक–एक वटा बाख्रा कुकुरको आक्रमणबाट मरेका छन् । त्यस्तै धनबहादुर विष्टको एउटा भेडा तथा वीरेन्द्र लिम्बूको एउटा बाख्रा र १५ वटा कुखुरा कुकुरले मारेको वडाध्यक्ष भट्टराईले जानकारी दिनुभयो । रातको समयमा कुकुरले बाख्रा, भेडा, खसी तथा कुखुराजस्ता पशुपन्छीमाथि आक्रमण गरी टोकेर मार्ने गरेको पाइएको उहाँले बताउनुभयो । कुकुरले पशुपन्छी मारेर खाने र खाइनसकेको अवस्थामा छाड्ने गरेको समेत उहाँले जानकारी दिनुभयो ।
फावाखोलामा कुकुरको आतङ्क नरोकिएपछि वडा कार्यालयले सार्वजनिक सूचना जारी गरी घरपालुवा कुकुरलाई सुरक्षित तथा नियन्त्रणमा राख्न सम्बन्धित धनीलाई आग्रह गरेको छ । वडाध्यक्ष भट्टराईले जारी गरेको सूचनामा कुकुरलाई नियन्त्रणमा राख्न र छाडा छोडेको अवस्थामा कुकुरबाट हुने हानि–नोक्सानीको क्षतिपूर्ति सम्बन्धित कुकुरधनीबाट असुलउपर गरिने उल्लेख छ ।


