इटहरी। रसुवाको भोटेकोशीमा आएको बाढीले ठुलो जनधनको क्षति पु(याएपछि सप्तकोशी नदीआसपासका बासिन्दामा बाढीको त्रास बढेको छ । हिमाली क्षेत्रबाट बगेर आउने सप्तकोशी नदीमा कुनैबेला भोटेकोशीमा जस्तै विनाशकारी बाढी आउन सक्ने चिन्ताले सप्तकोशी किनारका बासिन्दालाई पिरोल्न थालेको छ । 

सप्तकोशी नदीसँगै जोडिएका बस्तीमा बर्सौंदेखि बसोबास गर्दै आएका स्थानीयले भोटेकोशी बाढीको दृश्यले झस्काएको स्थानीय ५५ वर्षीय श्याम चन्द्रवंशीले बताउनुभयो । नदीको बदलिँदो स्वरूप, बर्सौँदेखि थुप्रिँदै आएको बालुवा र गेग्य्रान तथा दशकौँ पुरानो पूर्वी तटबन्धको अवस्थाले चिन्ता बढाएको उहाँको भनाइ छ । वराहक्षेत्र नगरपालिका–६ का ५८ वर्षीय बद्री राईले भोटेकोशीमा आएको बाढीपछि सप्तकोशी किनारमा बस्ने आफूहरूमा डर बढेको बताउनुभयो । हिमाली तथा पहाडी क्षेत्रबाट बगेर आउने सप्तकोशीमा पनि बाढी आउन सक्ने आशङ्काले स्थानीयलाई चिन्ता थपेको उहाँ बताउनुहुन्छ । 

चीनको तिब्बत हुँदै नेपालका हिमाली तथा पहाडी भूभागबाट बगेर आउने नदी मिलेर बनेको सप्तकोशीमा बर्खायाममा पानीको बहाब तीव्र हुने गरेको छ । अरुण, तमोर, सुनकोशी, दुधकोशी, तामाकोशी, लिखु र इन्द्रावतीको सङ्गमबाट बनेको सप्तकोशी चतराबाट समथर भूभागमा फैलिएर बग्दै आएको छ । सुनसरीको चतरादेखि कोशी ब्यारेजसम्मको क्षेत्र र उदयपुरको बेलका नगरपालिकाको तल्लो तटीय क्षेत्र, सप्तरीको सप्तकोशी नगरपालिका तथा कोशी गाउँपालिकाआसपासका बासिन्दाले नदीको बाढी र कटानको जोखिम सामना गर्दै आएका छन् । भोटेकोशीको बाढीले नदी किनारका बस्तीमा पु(याएको क्षतिपछि कोशी कोरिडोर क्षेत्रका बासिन्दाले पनि आफ्नो क्षेत्रको तटबन्ध, नदीको बहाब र बाढी पूर्वतयारीबारे चिन्ता र चासो लिने गरेको वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले बताउनुभयो ।  

उकासिँदै नदीको सतह

हिउँदमा सप्तकोशीको बिचभागमा देखिने बालुवाका थुप्रो बर्खाको भेलले छोपिएको छ । बर्खायाममा पानीले छोपिने र हिउँदमा फेरि देखा पर्ने यस्ता बालुवाका टापुले नदीको बदलिँदो स्वरूप देखाइरहेको छ । बर्खायाममा हिमाली तथा पहाडी क्षेत्रमा हुने भूक्षयका कारण बालुवा, गेग्य्रान, माटो र लेदो ठुलो परिमाणमा सप्तकोशीमा बगेर आउने गरेको छ । चतरानजिकै समथर भूभागमा नदी फैलिँदा पानीसँगै आएका पदार्थ थिग्रिने र नदीको बहाब क्षेत्र पुरिँदै जाने गरेको स्थानीय कृष्ण बस्नेतले बताउनुभयो ।  

वराहक्षेत्र नगरपालिका–९ का स्थानीय प्रेम अधिकारीका अनुसार केही वर्षयता कोशीमा पानीको मात्रा थोरै बढ्दा पनि नदीको सतह माथि पुग्ने गरेको छ । कोशीमा ठुलो बाढी नै आउनु पर्दैन, सामान्य बाढी आउँदा पनि पानी तटबन्धको छेउसम्म आइपुग्छ । सप्तकोशीको पूर्वी तटबन्धआसपासका बासिन्दाका लागि बाढीबाट जोगिने मुख्य संरचना मानिन्छ । वराहक्षेत्र–१० का वडाध्यक्ष तेजबहादुर गुरुङले नदीको सतह उकासिँदै गएको र धार परिवर्तन भइरहेकाले तटबन्धले कति जोखिम थेग्न सक्छ भन्ने प्रश्न स्थानीयले उठाएको बताउनुभयो । उहाँका अनुसार पूर्वी तटबन्धका कतिपय संरचना दशकौँअघि निर्माण गरिएका छन् । यस वर्ष जोखिमयुक्त स्थानमा तारजालीमा ढुङ्गा, बालुवा भरेर हालिएको छ । नदीको बिचभागमा थुप्रिएको बालुवा तथा गेग्य्रान व्यवस्थापन गर्न नसक्दा पानीको बहाब क्षेत्र साँघुरिँदै गएको बताइएको छ । तत्कालका लागि नदीको बिचभागबाट पाइलट च्यानल निर्माण गरी मुख्य धारलाई व्यवस्थित गर्नुपर्ने स्थानीयको माग छ ।