इटहरी। कोशी प्रदेशको पूर्वी पहाडी जिल्ला धनकुटाका गाउँमा स्थानीयबासी अझै पनि विद्युतको पहुँचभन्दा बाहिर रहेका छन् । जिल्लाका सहर तथा गाउँमा सडक पहुँचसम्म विद्युत विस्तार भएपनि केही ठाउँका स्थानीयबासी भने अझै पनि विद्युतको पहुँचभन्दा बाहिर रहेका हुन् ।
धनकुटाको पाख्रीबास नगरपालिका–७, मुगास्थित थाक्लेकी ६० वर्षीय तारा तामाङको घरमा अझै पनि विद्युत पुगेको छैन । गाउँमा सबैको घरमा साँझ परेपछि उज्यालो बत्ती बल्छ । तर उहाँको घरमा भने साँझ परेपछि कुपी बल्छ । गाउँको बस्तीभन्दा उहाँको घर केही टाढा रहेको छ । करिब दुई दशक अगाडि गाउँमा विद्युतको विस्तार भएपनि तामाङ कुपीको भरमा बस्दै आउनुभएको छ । उहाँको परिवारले अहिलेसम्म विद्युतको उज्यालो देख्न पाएका छैनन् । रातको समयमा अँध्यारैमा बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘सबैको घरमा बिजुली पुग्यो, साँझ परेपछि उज्यालो हुन्छ । आफ्नो घरमा भनेको बेला मट्टितेलसमेत हुँदैन, अँध्यारैमा बस्नुपर्ने बाध्यता रहेको छ ।’ यहाँ दैनिक जीवीकोपर्जन गरेर घरपरिवार चलाउँदै आउनुभएको छ । उहाँले भन्नुभयो ‘एउटा मोबाइल किनेको छु, चार्ज गर्नसमेत करिब २० मिनेटको बाटो हिँडेर अर्काको घर जानुपर्ने बाध्यता रहको छ । कसैको अर्मपर्म काम गर्न बोलाउँदा फोन गर्ने गर्छन्, जाने गर्छु त्यहीँ मोबाइल चार्ज गर्छु,’ उहाँले भन्नुभयो । रातिको समयमा घर आसपास सबैको घरमा उज्यालो हुने तर उहाँको घरमा भने रातमा सधैँ अन्धकारले छोपिँदै आएको छ ।
पाख्रीबास बजारबाट पैदल करिब एक घन्टा ३० मिनेटमा मुगा गाउँ पुगिन्छ । उमेरले ६० वर्ष पुग्नुभएका नरबहादुर तामाङ ९झमक०को पनि उस्तै समस्या रहेको छ । ‘सबैको घर–घरमा साँझ परेपछि बत्ती बल्छ । आफ्नो घरमा कहिलेकाहीँ मट्टितेल पनि हुँदैन, अध्यारो दाउराको भरमा बस्नुपर्ने बाध्यता छ,’ उहाँले भन्नुभयो, ‘गाउँगाउँमा सिंहदरवार भन्छन् सायद यही होला ।’ आफूहरूकहाँ बत्ती नआइपुगेको उहाँले गुनासो गर्नुभयो । ‘सरकारले हामीलाई बत्तीको सुविधा दिन सकेको छैन, उहाँले दुःखेसो व्यक्त गर्दै भन्नुभयो, ‘गरिब भएकै कारण पहुँच नपुग्दा अन्धकारमा बस्नुपर्ने बाध्यता रहेको छ ।’
गाउँमा सबैतिर विद्युत लाइन विस्तार भएपनि उहाँहरुको घर बस्तीबाट टाढा रहेकाले विद्युत लाइन विस्तारमा समस्या भएको वडाध्यक्ष देवेन्द्र तामाङले बताउनुभयो । दुईघरका लागि प्रधिकरणबाटै विद्युत् विस्तारका लागि तार, पोल र अन्य आवश्यक सामाग्री चाहिने हुदाँ वडाले मात्रै गर्न नसक्ने उहाँको भनाइ छ । तर पनि वडाले आवश्यक समन्वय गरी विद्युतलाई विस्तारका लागि काम गरिरहेको वडाध्यक्ष तामाङको भनाइ छ छ । यता विद्युत प्राधिकरण धनकुटाका प्रमुख विजलीप्रसाद यादवले भने गाउँका केही घरहरु बस्तीबाट टाढा रहेकाले विद्युत् विस्तारमा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘बस्तीबाट टाढा रहेका घरमा विद्युत विस्तारका लागि पोल र तार आवश्यक पर्ने र बजेट अभावका कारण समस्या भएको छ ।’ यद्यपि, वडाको सिफारिमा कार्यलयमा आएर माग गरे विद्युत् विस्तार गर्न सकिने उहाँले बताउनुभयो । जिल्लामा ९९ प्रतिशत घरमा विद्युत् विस्तार भइसकेको विद्युत प्रधिकारण धनकुटाको दाबी छ ।


