इटहरी। झापाको मेचीनगर नगरपालिका–३ स्थित धानबारीमा बुधबार बिहान एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । स्थानीयले हात्ती मृत देखेपछि सम्बन्धित निकायलाई खबर गरेका थिए । मृत हात्तीको मृत्युको कारण भने तत्काल खुल्न सकेको छैन । घटनास्थलमा डिभिजन वन कार्यालय झापा र प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान तथा परीक्षणसहितको प्रक्रिया सुरू गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ हात्तीको मृत्युको कारणबारे अनुसन्धान सुरू भएको छ । करिब ७ वर्षको भाले हात्ती मेचीनगर–३ मा हात्ती मृत भेटिएसँगै झापामा हालसम्म विभिन्न कारणले मरेका हात्तीको संख्या ३० पुगेको बताइएको छ ।
झापाको मेचीनगर, भद्रपुर, हल्दिबारी, बाहुनडाँगीलगायत भारतसँग सीमा जोडिएका क्षेत्रमा लामो समयदेखि मानव–हात्ती द्वन्द्वको समस्या रहँदै आएको छ । हात्ती बस्तीमा प्रवेश गर्दा किसानको बालीनाली तथा घरगोठमा क्षति पुग्ने गरेको छ भने कतिपय अवस्थामा मानिसको ज्यानसमेत जाने गरेको छ । मानव–हात्ती द्वन्द्वका क्रममा करेन्ट लाग्ने, दुर्घटना तथा अन्य विभिन्न कारणबाट हात्ती मर्ने गरेका डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अमृतबहादुर लिम्बुले बताउनुभयो । अहिले मृत भेटिएको हात्तीको पोष्मार्टम गरेपछि मृत्युको कारण खुल्ने पनि लिम्बुले जानकारी दिनुभयो ।
स्थानीयका अनुसार धान पाक्ने समयमा हात्तीको आवतजावत बढ्ने भएकाले यस क्षेत्रमा मानव–हात्ती द्वन्द्वको जोखिम थप बढ्ने गरेको छ । हात्तीको आवतजावत हुने क्षेत्र पहिचान गरी पूर्वसूचना प्रणाली, सुरक्षित मार्ग तथा क्षति न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने स्थानीयको माग छ ।


