इटहरी स् नेपाल शैक्षिक परामर्श संघ इक्यानले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा कार्यरत संस्थाको नेतृत्व क्षमता, संस्थागत सुदृढीकरण र राष्ट्रिय भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले बिर्तामोडमा ‘इक्यान लिडर्स मिट ३।०’ आयोजना गर्ने भएको छ।
इक्यान झापा शाखाको आतिथ्यमा असोज २ देखि ४ गतेसम्म बिर्तामोडमा कार्यक्रम आयोजना हुने इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए। इक्यानको देशव्यापी नेतृत्वलाई एउटै राष्ट्रिय मञ्चमा ल्याउने उद्देश्यले आयोजना हुँदै आएको लिडर्स मिटको यो तेस्रो संस्करण हो। यसअघि पहिलो संस्करण इक्यान चितवन शाखाको आतिथ्यमा र दोस्रो संस्करण इक्यान मकवानपुर शाखाको आतिथ्यमा सम्पन्न भएको थियो। सोही निरन्तरतामा तेस्रो संस्करण आयोजना गर्ने जिम्मेवारी इक्यान झापा शाखाले पाएको हो। कार्यक्रममा इक्यान केन्द्र, विभिन्न शाखा तथा समन्वय संरचनाका नेतृत्वसहित देशभरबाट करिब १५० जना नेतृत्व तहका प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ।
कार्यक्रममा नेतृत्व विकास, संस्थागत सुशासन, सञ्चार सीप, वित्तीय व्यवस्थापन, रणनीतिक सोच तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका समसामयिक विषयमा प्रशिक्षण र अन्तरक्रिया हुने बताइएको छ। इक्यानका अनुसार नेपालमा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्र तीव्र गतिमा विस्तार भइरहेका बेला विद्यार्थीको विदेश अध्ययन, गन्तव्य छनोट, अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको सम्बन्ध, विद्यार्थी आवागमन, डिजिटल प्रविधि तथा गन्तव्य मुलुकका बदलिँदा शिक्षा र अध्यागमन नीतिले यस क्षेत्रको भूमिका थप चुनौतीपूर्ण र जिम्मेवार बनाएको छ।
इक्यानमा हाल ७५० भन्दा बढी सदस्य संस्था आबद्ध रहेको र देशभर शाखा तथा समन्वय संरचना विस्तार भएको इक्यान केन्द्रीय द्वितीय सचिव आशिक कार्कीले जानकारी दिए। काठमाडौंमा केन्द्रित अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका गतिविधि, अनुभव र अवसरलाई प्रदेश, जिल्ला तथा देशका विभिन्न शैक्षिक बजारसँग जोड्दै विकेन्द्रित संस्थागत नेतृत्व निर्माण गर्नु इक्यानको महत्वपूर्ण प्राथमिकता रहेको उनले बताए।
‘झापा घोषणापत्र’ जारी गरिने
लिडर्स मिट ३।० मा ‘ग्लोबल एजुकेशन मोबिलिटी’ मा नेपालको भूमिका र स्थानबारे समेत व्यापक बहस हुने भएको छ। कार्यक्रमका छलफल तथा अन्तरक्रियाबाट प्राप्त निष्कर्षलाई समेटेर ‘झापा घोषणापत्र’ जारी गरिने इक्यान झापाका निवर्तमान अध्यक्ष रोशन सुवेदीले जानकारी दिए। घोषणापत्रमार्फत ग्लोबल एजुकेशन मोबिलिटीमा नेपालको वर्तमान अवस्था, सम्भावना, चुनौती, राष्ट्रिय हित तथा आगामी दिशाबारे इक्यानको संस्थागत दृष्टिकोण प्रस्तुत गरिनेछ। घोषणापत्रमा विद्यार्थी हित, नैतिक अभ्यास, संस्थागत जवाफदेहिता, अन्तर्राष्ट्रिय साझेदारी तथा नीतिगत सहभागितालगायत विषयलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ।
लिडर्स मिटले केन्द्र र शाखाबीचको संस्थागत सम्बन्ध, समन्वय, सञ्चार तथा साझा रणनीतिक दिशालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। सहभागी नेतृत्वले आ–आफ्ना क्षेत्र र संस्थामा देखिएका चुनौती, अनुभव तथा सफल अभ्यास आदानप्रदान गर्दै संस्थागत नेतृत्व क्षमता अभिवृद्धिमा योगदान पुर्याउने इक्यान झापा शाखाका उपाध्यक्ष अशोक भण्डारीले बताए। इक्यान झापा शाखाका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा इक्यान केन्द्रीय द्वितीय सचिव आशिक कार्की प्रमुख अतिथि थिए। कार्यक्रम सञ्चालन इक्यान झापा शाखाका उपाध्यक्ष अशोक भण्डारीले गरेका थिए।


