इटहरी । पूर्वी नेपालमा जङ्गली हात्तीको आक्रमणबाट पछिल्लो दुई दशकमा ९७ जनाको मृत्यु भएका छन् । यही अवधिमा विभिन्न कारणले ४५ वटा जङ्गली हात्तीसमेत मरेको तथ्याङ्कले देखाएको छ । 

यसले मानव बस्ती विस्तारसँगै हात्तीको परम्परागत आवागमन क्षेत्र खुम्चिँदै जाँदा दुवैतर्फ जोखिम बढेको बताइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार आर्थिक वर्ष २०६२र६३ देखि हालसम्म कोशी प्रदेशमा ४५ वटा जङ्गली हात्ती मरेका छन् । तीमध्ये सबैभन्दा धेरै २५ वटा हात्ती झापामा मरेका छन् । कोशीटप्पु वन्यजन्तु आरक्ष तथा आसपासको क्षेत्रमा छ वटा हात्तीको मृत्यु भएका छन् । तीमध्ये चार वटा करेन्ट लागेर र दुई वटा गोली प्रहारबाट मरेका हुन् । उदयपुरमा दुई वटा हात्ती गोली लागेर र सप्तरीमा दुई वटा करेन्ट लागेर हात्ती मरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । 

सार्वजनिक गरिएको तथ्याङ्क अनुसार मोरङमा आठ वटा हात्ती मरेका छन् । तीमध्ये एउटा गोली लागेर र एउटा करेन्ट लागेर मरेको छ भने अन्य छ वटाको मृत्युको कारण स्पष्ट हुन नसकेको विवरणमा उल्लेख छ । सुनसरीमा दुई वटा हात्ती करेन्ट लागेर मरेका छन् । कोशी प्रदेशको जिल्लागत रूपमा झापा जिल्ला हात्तीको मृत्यु र मानव हात्ती द्वन्द्व दुवै दृष्टिले उच्च जोखिममा रहेको बताइएको छ । हात्तीको नियमित आवागमन हुने क्षेत्रमै बस्ती विस्तार, खेतबारीमा विद्युत् प्रयोग, असुरक्षित विद्युतीय संरचना र मानवीय गतिविधि बढ्दा मानव हात्ती द्वन्द्व बढ्दै गएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रले जनाएको छ । आव २०८०र८१ यता मात्रै कोशी प्रदेशमा १२ वटा जङ्गली हात्ती मरेको विवरण कोशी संरक्षण केन्द्रले सार्वजनिक गरेको छ । हात्ती संरक्षणका लागि बासस्थान र आवागमन मार्ग जोगाउनेसँगै बस्ती क्षेत्रमा विद्युतीय जोखिम घटाउनु चुनौती रहेको कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो । 

९७ जनाको मृत्यु

राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रको तथ्याङ्क अनुसार पूर्वी नेपालमा आव २०६२र६३ देखि २०८१र८२ सम्म कोशी प्रदेशमा हात्तीको आव्रmमणबाट ९७ जनाको मृत्यु भएको छ । यसमा सबैभन्दा ठुलो मानवीय क्षति झापा जिल्लामा भएको छ । झापामा आव २०६२र६३ देखि २०७५र७६ सम्म मात्रै ४० जना हात्तीको आव्रmमणमा परी ज्यान गुमाएका छन् । त्यसपछि आव २०७६र७७ मा तीन जना, २०७७र७८ मा पाँच जना, २०७८र७९ मा पाँच जना २०७९र८० मा आठ जना, २०८०र८१ मा सात जना र २०८१र८२ मा चार जनाको मृत्यु भएको कोशी संरक्षण केन्द्रले जनाएको छ । झापामा सबैभन्दा बढी ७२ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । मोरङमा आव २०६२र६३ देखि २०७५र७६ सम्म सात जनाको मृत्यु भएको छ । आव २०७७÷७८ मा तीन जना, २०७८र७९ मा एक जना, २०८०र८१ मा एक जना, २०८१र८२ मा पाँच जनासहित मोरङमा १७ जनाको मृत्यु भएको बताइएको छ । 

त्यस्तै सुनसरीमा तीन जना, इलाममा तीन जना र उदयपुरमा दुई जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । सुनसरीमा आव २०८०र८१ मा दुई जना र २०८१र८२ मा एक जनाको मृत्यु भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार इलाममा आव २०७७र७८, २०७८र०७९ र २०८१र८२ मा एकरएक जनाले हात्तीको आक्रमणमा परी ज्यान गुमाएका छन् । हात्तीकै आव्रmमणमा परि उदयपुरमा आव २०७५र७६ मा दुई जनाको मृत्यु भएको बताइएको छ ।

बालीदेखि घरगोठसम्म क्षति

मानवीय क्षतिसँगै जङ्गली हात्तीले घरगोठ, अन्नबालीमा भएको क्षतिले प्रभावित परिवारको आर्थिक जोखिमसमेत बढाएको छ । सार्वजनिक विवरण अनुसार झापा, मोरङ, सुनसरी र उदयपुरमा हात्तीबाट भएको क्षतिका आधारमा राहत वितरण गरिएको बताइएको छ । झापामा आव २०७६र७७ देखि आव २०८१र८२ सम्म बाली तथा घरगोठ क्षतिको लागि आठ करोड ५४ लाख ४२ हजार १४ रुपियाँ राहत वितरण गरिएको कोशी संरक्षण केन्द्रले जनाएको छ । मोरङमा आव २०७६र७७ देखि आव २०८१र८२ सम्म बाली तथा घरगोठ क्षतिका लागि एक करोड ४१ लख १९ हजार ८११ रुपियाँ राहत वितरण गरिएको छ । 

सुनसरीमा पुराना घटनासहित आव २०७६र७७ देखि आव २०८१र८२ सम्म बाली तथा घरगोठ क्षतिका लागि ३५ लाख १८ हजार ९५६ रुपियाँ राहत वितरण गरिएको अभिलेखमा उल्लेख छ । इलाम जिल्लामा बाली तथा घरगोठ क्षतिका लागि ३१ लाख नौ हजार ७५० रुपियाँ राहत वितरण गरिएको छ । उदयपुरमा जिल्लामा आव २०७६र७७ देखि आव २०८१र८२ सम्म हात्तीबाट भएको बाली तथा घरगोठ क्षतिका लागि आठ लाख ३२ हजार ८३३ रुपियाँ राहत पीडित परिवारलाई वितरण गरेको कोशी वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार मानव बस्ती र वन्यजन्तुको बासस्थानबिचको दुरी घट्दै जाँदा मानव वन्यजन्तु द्वन्द्व जटिल बन्दै गएको छ । वन्यजन्तु संरक्षणसँगै स्थानीय बासिन्दाको जीउधन र सम्पत्तिको सुरक्षा पनि उत्तिकै आवश्यक रहेको उहाँको भनाइ छ । 

हात्तीको परम्परागत हिँड्ने बाटोमा बस्ती र खेती विस्तार हुनु, विद्युत्का तार तथा अन्य संरचना जोखिमयुक्त हुनु र वन तथा बस्तीबिचको दुरी कम हुँदै जानुले द्वन्द्व बढाउँदै गएको बताइएको छ । हात्तीको आवागमन हुने क्षेत्रमा सुरक्षित विद्युतीय संरचना निर्माण, पूर्वसूचना प्रणाली विस्तार, परम्परागत हात्ती हिँड्ने मार्गको संरक्षण र क्षतिपूर्तिको प्रव्रिmया छिटो र प्रभावकारी बनाउन सके मानव र हात्ती दुवैतर्फको जोखिम घट्दै जाने थियो ।