इटहरी । उदयपुरको बेलका नगरपालिका–८, बोफताङ्गस्थित आहाले डाँडाको जमिन धसिएर शुक्रबार रातिदेखि गएको पहिरो मन्द गतिमा तलतिर निरन्तर बगिरहँदा स्थानीयमा त्रास फैलिएको छ । नेपाल रेडक्रस सोसाइटी उदयपुरका सभापति मदनराज कटुवालले घटनास्थलबाट दिनु भएको जानकारी अनुसार करिब डेढ किलोमिटर जति पहाड पूरै धाँजा परेर जमिन फाटेकोले त्योभन्दा तलतिरको गाउँ र बस्तीमा त्रास फैलिएको हो । डाँडामाथिको जमिनको धरातल फुटेर चिरा चिरा परेर क्रमशः बग्दै जान थालेपछि जोखिम बढेको हो ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले आहाले डाँडाको पहिरोको सम्बन्धमा केन्द्रीयस्तरको विपत् व्यवस्थापन प्राधिकरणमा आवश्यक पहलका लागि पत्राचार गरिएको र सम्बन्धित बेलका नगरपालिकाले पनि पहल भइरहेको बताउनुभयो । शुक्रबार राति गएको यो पहिरोले चार वटा घरमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार जमिन धसिएर तल झर्दा स्थानीय मेहरमान राईलाई उहाँको घरैसहित पहिरोले करिब चार सय मिटर तल पुर्याएको थियो । उहाँ शनिबार बिहान सकुशल सम्पर्कमा आउनुभएको थियो । बेलका नगरपालिका नगरप्रमुख अशोक कार्कीका अनुसार गाउँको माथिबाट जमिन नै धसिएर आएको पहिरोको प्रभावित वा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थायी किसिमले स्थानान्तरण गर्न अति आवश्यक भएको र सम्बन्धित निकायमा आफूले पत्राचार गरी जानकारी गराइसकेको बताउनुभयो । नगरप्रमुख कार्कीका अनुसार तत्काल भूगर्भविद्बाट यसको अध्ययन अवलोकन हुन जरुरी भएको बताउनुभयो ।
ताङ्गस्थित आहाले डाँडाको जमिन पूरै धाँजा परेर पहिरो बग्न ठिक्क परे जस्तो देखिएकोले यस क्षेत्रमा मानवबस्ती उपयुक्त हो वा हैन भन्ने भूगर्वविद्को राय आवश्यक देखिएको छ । स्थानीय त्रासित भएर धमाधम घरबाट सामान निकालेर अन्यत्रतिर सार्न थालेकोले स्थिति निकै जटिल हुँदै गएकोले तत्काललाई पहिरोमा क्षति भएका चार घरलगायत अन्य सात वटा घरलाई पनि अन्यत्र स्थानन्तरण गर्नुपर्ने नगरप्रमुख कार्कीले बताउनुभयो ।


