इटहरी। तेह्रथुम जिल्ला अस्पतालको प्रसूति कक्षमा आउने गर्भवती महिलाका लागि अहिले चिन्ता बढ्न थालेको छ ।

जिल्लामै सिजेरियनमार्फत प्रसूति सेवा उपलब्ध हुँदै आएको भए पनि आवश्यक जनशक्ति अभाव भएपछि गत असार मसान्तदेखि शल्यक्रियामार्फत प्रसूति गराउने सेवा बन्द भएको छ । सेवा बन्द भएपछि शल्यक्रिया आवश्यक पर्ने गर्भवती महिलालाई धरान, विराटनगरलगायत तराईका अस्पतालमा लैजानुपर्ने बाध्यता छ । तेह्रथुमबाट तराईका अस्पताल पुग्न सडकमार्गबाट पाँचदेखि छ घण्टासम्म लाग्ने भएकाले प्रसूति जस्तो संवेदनशील अवस्थामा गर्भवती र परिवारले लामो तथा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था आएको छ ।

जिल्लामै उपचार हुने विश्वासमा अस्पताल पुगेका गर्भवतीलाई शल्यक्रिया आवश्यक परेपछि फेरि अर्को अस्पतालको यात्रा गर्नुपर्ने बाध्यता छ । यसले गर्भवती महिला र परिवारलाई आर्थिक तथा शारीरिक समस्या मात्रै होइन, समयमै उपचार पाइने हो कि होइन भन्ने चिन्तासमेत थपेको छ । विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रबाट आउने महिलाका लागि लामो दूरीको यात्रा थप कठिन हुने गरेको छ ।

महिला मानव अधिकारकर्मी टंकमाया लिम्बूले सिजेरियन सेवा बन्द हुँदा महिलाहरूले विभिन्न समस्या झेल्नुपरेको बताइन । प्रसूति जस्तो संवेदनशील अवस्थामा आवश्यक सेवा जिल्लामै उपलब्ध गराउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने उनको भनाइ छ । प्रसूतिको समयमा कुन बेला आकस्मिक शल्यक्रिया आवश्यक पर्छ भन्ने निश्चित नहुने भएकाले जिल्लामै अत्यावश्यक सेवा उपलब्ध हुनु जरुरी रहेको उनले बताए । जिल्ला अस्पतालमा सिजेरियन सेवा बन्द हुनुको मुख्य कारण आवश्यक चिकित्सकीय जनशक्तिको अभाव हो । अस्पताल प्रशासनका अनुसार विगत करिब १० वर्षदेखि ‘निक साइमन’ नामक गैरसरकारी संस्थाको सहयोगमा सिजेरियन सेवाका लागि आवश्यक जनशक्ति व्यवस्थापन हुँदै आएको थियो ।

संस्थाले एमडिजिपी चिकित्सक, मेडिकल अधिकृत, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, बायोमेडिकल टेक्निसियन र एनेस्थेसिया असिस्टेन्ट गरी छ जना जनशक्ति उपलब्ध गराउँदै आएको थियो । परियोजना समाप्त भएपछि ती जनशक्ति उपलब्ध हुन छाडेपछि आवश्यक जनशक्ति अभावमा सिजेरियन सेवा बन्द भएको हो । लामो समयदेखि जिल्लामै सञ्चालन हुँदै आएको अत्यावश्यक सेवा परियोजना समाप्तिसँगै बन्द भएपछि स्थानीयमा असन्तुष्टि बढेको छ । स्थानीय तेज आपागाईले जिल्लामै उपलब्ध सेवा बन्द हुँदा सर्वसाधारणलाई समस्या परेको बताए , जिल्ला अस्पतालमा सामान्य अवस्थामा महिनामा ३० देखि ३५ जनासम्मले प्रसूति सेवा लिने गरेका थिए । आर्थिक वर्ष २०८२र८३ मा मात्रै ४४ जनाको सिजेरियनमार्फत प्रसूति गराइएको अस्पतालले जनाएको छ । यसले जिल्लामा सिजेरियन सेवाको आवश्यकता र माग स्पष्ट देखाउँछ । तर सेवा बन्द भएपछि प्रसूति सेवा लिन आउने सेवाग्राहीको संख्या समेत घट्न थालेको अस्पताल प्रशासनले जनाएको छ ।

अहिले प्राकृतिक रूपमा सहज प्रसूति हुन सक्ने अवस्थाका गर्भवतीलाई मात्र अस्पतालबाट सेवा दिइँदै आएको छ । शल्यक्रिया आवश्यक पर्ने सम्भावना देखिएमा अन्य अस्पतालमा पठाउनुपर्ने अवस्था छ । जिल्ला अस्पतालका प्रमुख डा।खड्ग लिम्बूका अनुसार सिजेरियन सेवा पुनस् सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न पहल भइरहेको  छ । तर सेवा कहिलेसम्म नियमित हुन्छ भन्ने स्पष्ट समयसीमा भने तय भइसकेको छैन । जिल्ला अस्पताल तेह्रथुममा तेह्रथुमका विभिन्न स्थानीय तहसँगै छिमेकी जिल्ला सङ्खुवासभाको धर्मदेवी, मादीलगायत क्षेत्रबाट समेत प्रसूति सेवा लिन आउने गरेका छन । त्यसैले यहाँको सिजेरियन सेवा बन्द हुनुको असर तेह्रथुममा मात्र सीमित छैन। छिमेकी जिल्लाका ग्रामीण क्षेत्रबाट प्रसूति सेवा लिन आउने महिलासमेत प्रभावित भएका छन् ।

प्रसूति सेवा अन्य स्वास्थ्य सेवाभन्दा संवेदनशील मानिन्छ । गर्भावस्थाको अवस्था सामान्य देखिए पनि प्रसूतिको समयमा आकस्मिक शल्यक्रिया आवश्यक पर्न सक्छ । यस्तो अवस्थामा बिरामीलाई पाँचदेखि छ घण्टाको यात्रा गराएर अन्यत्र लैजानुपर्ने बाध्यता जोखिमपूर्ण बनेको छ । अहिले जिल्ला अस्पतालमा प्राकृतिक रूपमा सहज प्रसूति हुने अवस्थाका गर्भवतीलाई सेवा दिइए पनि शल्यक्रिया आवश्यक पर्नेबित्तिकै जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेको छ ।