इटहरी स् झापामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित शनिवार तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिवसताक्षीका दुई जना र कनकाई नगरपालिकाका एक जना छन्।
झापा गाउँपालिका–४ पेश्करटोलबाट प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शिवसताक्षी नगरपालिका–६ का ५३ वर्षीय संजय अग्रवाल र शिवसताक्षी–४ का १८ वर्षीय अर्जुन मल्लिकलाई पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीलाई देखेपछि उनीहरूले साथमा रहेको कालो प्लास्टिकको पोका घाँसको झाडीमा फालेका थिए। प्रहरीले उक्त पोका बरामद गरी परीक्षण गर्दा प्लास्टिकसहित १२ ग्राम ५९ मिलिग्राम र प्लास्टिकबाहेक ७ ग्राम १४ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो। प्रहरीले उनीहरूले प्रयोग गरेको प्र।१–०१–०१६ प ४४१३ नम्बरको स्कुटीसमेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय कुमरखोदमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी, इलाका प्रहरी कार्यालय बिर्तामोड र घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका–९ का डम्बरकुमार श्रेष्ठलाई पनि ब्राउन सुगरसहित पक्राउ गरेको छ। उनको साथबाट २ ग्राम ९२० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।प्रहरीले तीनै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।


