इटहरी स्  जापानिज इन्सेफलाइटिस ९जेई० अर्थात् मस्तिष्क ज्वरोको संक्रमणबाट झापामा थप एक बालकको मृत्यु भएको छ। भद्रपुर नगरपालिका–८ का ८ वर्षीय अविनाश टुडुको उपचारका क्रममा मृत्यु भएको हो।

भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार अविनाशलाई भदौ ८ गते उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरिएको थियो। अस्पतालमा गरिएको परीक्षणबाट जेई संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि भदौ १० गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। धरानमा करिब १४ दिन उपचार गराए पनि स्वास्थ्यमा सुधार नआएपछि परिवारले उनलाई घर ल्याएको थियो। घरमै राखेर उपचार तथा हेरचाह भइरहेको अवस्थामा शुक्रबार उनको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ।

अविनाशको मृत्युसँगै झापामा जेई संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा हालसम्म १४ जनामा जेई संक्रमण पुष्टि भएको छ। यसअघि मेचीनगरमा दुई जना तथा बिर्तामोड, बाह्रदशी, अर्जुनधारा र हल्दीबारीमा एक–एक जनाको जेई संक्रमणबाट मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लामा संक्रमणसँगै मृत्युसमेत बढ्न थालेपछि स्वास्थ्य कार्यालयले जेई नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ। कार्यालयका अनुसार आगामी असोज ५ गतेदेखि जिल्लाका लक्षित क्षेत्रमा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिनेछ।