इटहरी स्  उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाइमा अटो र मोटरसाइकल आपसमा ठोक्किँदा एक प्रहरी जवान घाइते भएका छन् ।

फत्तेपुरबाट सिवाइतर्फ आउँदै गरेको प्र २–०१–००१ ह ०२१८ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको कोशी प्रदेश ०५–००२ प २५११ नम्बरको मोटरसाइकल शनिबार साँझ फत्तेपुर–गाईघाट भित्री कच्ची सडकखण्डमा ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक करिब २९ वर्षीय प्रहरी जवान भेषप्रसाद फुयाल घाइते भएका छन् । उनको बाँया कुम, बाँया खुट्टा र दाहिने घुँडामा चोट लागेको प्रहरीले जनाएको छ ।  स्थानीय क्लिनिकमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि फुयाललाई विराटनगरस्थित नोबेल अस्पतालमा रिफर गरिएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी गोर्खे, इलाममा दरबन्दी रहेका फुयाल हाल इलामकै प्रहरी चौकी जितपुरमा कार्यरत थिए । उनी भदौ २६ गतेदेखि लागू हुने गरी दुई दिनको भैपरी बिदामा बसेको खुलेको छ । प्रारम्भिक अनुसन्धानबाट सवारीसाधनको तीव्र गतिका कारण दुर्घटना भएको पत्ता लागेको छ । दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।