इटहरी स् अर्जुनधारा नगरपालिकाले पछिल्लो चार वर्षमा नगरभित्र करिब ४५ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति भएको जनाएको छ। संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा आर्थिक वर्ष २०७९र८० देखि २०८२र८३ सम्म सडकसहित विभिन्न क्षेत्रमा भएका कामको विवरण नगरपालिकाले सार्वजनिक गरेको हो।
नगरपालिकाले इलामको कन्याममा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत चार वर्षको अवधिमा सञ्चालन भएका विकास निर्माण तथा विभिन्न कार्यक्रमका उपलब्धि सार्वजनिक गरेको हो। नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले निर्वाचनका क्रममा गरिएका अधिकांश प्रतिबद्धता कार्यान्वयनको चरणमा रहेको दाबी गरे। उनका अनुसार नगरभित्र सडक पूर्वाधारसँगै कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत् विस्तार, खेलकुद र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा काम भएको छ।
नगरपालिकाले योजना शाखासहित कृषि विकास, स्वास्थ्य, वन, वातावरण तथा विपद् व्यवस्थापन, न्यायिक समिति, आयुर्वेद, शिक्षा र खेलकुद विकास समितिमार्फत भएका कामको तथ्यांकसमेत सार्वजनिक गरेको छ। नगर प्रमुख गोम्देनका अनुसार अर्जुनधारा देशमै पहिलोपटक आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने स्थानीय तह हो। गुणस्तरीय नगर अस्पताल सञ्चालनसँगै नगरमा झापाकै पहिलो पशु अस्पताल स्थापना गरिएको उनले बताए।
चार वर्षको अवधिमा नगरपालिकाले शुद्ध खानेपानीको पहुँच विस्तार, विद्युत् विस्तार, धनिपूर्जा वितरण, जनता आवास कार्यक्रम आयुर्वेद अस्पताल सञ्चालन, खेलकुद पूर्वाधार तथा गतिविधिको विकास र विपद् व्यवस्थापनमा समेत काम गरेको जनाएको छ।
कृषि क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको जनाएको छ। किसान लक्षित कार्यक्रम तथा उत्पादन प्रवर्द्धनसँगै स्वास्थ्य, शिक्षा र सामाजिक विकासका क्षेत्रमा समेत विभिन्न कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले सार्वजनिक गरेको उपलब्धिलाई आगामी योजनाको आधार बनाउँदै बाँकी प्रतिबद्धता पूरा गर्ने दिशामा अघि बढ्ने नगर प्रमुख गोम्देनले बताएका छन्।


