इटहरी : इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारीको मृत्यु भएको छ।

मृत्यु हुनेमा इनरुवा नगरपालिका–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका करिब ३५ वर्षीय सागर रेग्मी रहेका छन्। रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी रहेको खुलेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीका दुई कर्मचारी मोटरसाइकलमा सवार भएर यात्रा गरिरहेका बेला दुर्घटनामा परेको प्रारम्भिक विवरणबाट खुलेको छ। प्रहरीका अनुसार शनिबार बिहान करिब २ः५० बजे इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बालग्राम, इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले दुवै घाइतेलाई उद्धार गरी बिहान ३ः२३ बजे उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित घोपा पठाएको थियो। उपचारका क्रममा पारस थापाको बिहान ५ः११ बजे मृत्यु भएको अस्पतालमा खटिएका प्रहरीमार्फत जानकारी प्राप्त भएको थियो। त्यसैगरी मोटरसाइकलको पछाडि सवार सागर रेग्मीको पनि उपचारका क्रममा बिहान ४ः५२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलमा थापा हेल्मेट लगाएको अवस्थामा भेटिएका थिए। दुर्घटनापछि सुरुमा दुवै जनाको नामथर तथा ठेगाना खुलेको थिएन। पछाडि सवार व्यक्तिको पहिचान गर्ने क्रममा उनी जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत सागर रेग्मी रहेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।