इटहरी। झापामा जापानिज इन्सेफ्लाइटिस ९जेई० अर्थात् मस्तिष्क ज्वरोले फेरि गम्भीर जनस्वास्थ्य चुनौतीको संकेत दिएको छ । पछिल्लो पटक भद्रपुर नगरपालिका–८ का आठ वर्षीय अविनाश टुडुको मृत्यु भएपछि जिल्लामा यस वर्ष जेई संक्रमणबाट ज्यान गुमाउनेको संख्या सात र संक्रमितको संख्या १४ पुगेको छ ।
अविनाशलाई भदौ ८ गते उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरिएको थियो । परीक्षणका क्रममा जेई संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि भदौ १० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो । करिब १४ दिन उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि परिवारले उनलाई घर ल्याएको थियो । घरमै उपचार तथा हेरचाह गरिरहेको अवस्थामा शुक्रबार उनको मृत्यु भएको भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
केही साताअघिसम्म जिल्लामा जेई संक्रमितको संख्या १० थियो । त्यसपछि ११ र १२ हुँदै पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १४ पुगेको छ । यसबीच मृत्यु हुनेको संख्या पनि निरन्तर बढ्दै गएपछि चिन्ता थपिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार यसअघि मेचीनगरमा दुई तथा बिर्तामोड, बाह्रदशी, अर्जुनधारा र हल्दिबारीमा एक–एक जनाको जेई संक्रमणबाट मृत्यु भएको थियो । जापानिज इन्सेफ्लाइटिस मानिसबाट मानिसमा सिधै सर्ने रोग होइन । संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा भाइरस सर्छ । वर्षायाममा पानी जम्ने तथा लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले संक्रमणको जोखिम बढ्न सक्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
झापाको पछिल्लो अवस्थाले बालबालिकामात्र नभई वयस्कमा समेत जोखिम रहेको देखाएको स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासले बताउनुभयो । जेईको जोखिमलाई उमेरका आधारमा मात्रै हेर्न नमिल्ने र संक्रमणको सम्भावना वातावरण, लामखुट्टेको सम्पर्क तथा व्यक्तिको प्रतिरोधात्मक अवस्थासँग जोडिएको उहाँले बताउनुभयो । झापामा संक्रमण र मृत्युको संख्या बढेपछि सरकारले असोज ५ गतेदेखि विशेष खोप अभियान सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको दासले बताउनुभयो । स्वास्थ्य कार्यालय झापाका अनुसार असोज ५ देखि १९ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ ।
अभियानमा ३० वर्षमाथिका करिब चार लाख ९३ हजार ३१९ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । प्रत्येक वडामा खोप केन्द्र स्थापना गर्ने तथा महिला स्वास्थ्य स्वयंसेविका र खोपकर्मी परिचालन गर्ने तयारी गरिएको छ । मेचीनगरबाट अभियान सुरु गर्ने र एक स्थानीय तहमा बढीमा सात दिनसम्म खोप सेवा सञ्चालन गर्ने तयारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


