इटहरी। धनकुटाको महालक्ष्मी नगरपालिका–७, जितपुरमा विद्युत् सर्ट हुँदा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । शनिबार साँझ पानी तान्ने मोटरबाट विद्युत् सर्ट भई करेन्ट लाग्दा ४१ वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका घर भएका राई हाल महालक्ष्मी नगरपालिका–६ मा बस्दै आउनुभएको थियो । महालक्ष्मी नगरपालिकामा निर्माणाधीन नगर अस्पतालको काम गर्दै आएका राई पानी तान्ने क्रममा विद्युत् सर्ट भई करेन्ट लागेर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।

निर्माण व्यवसायीसमेत रहेका राई महालक्ष्मी नगर अस्पताल निर्माणको काममा संलग्न हुनुहुन्थ्यो । करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र जितपुर लगिएको थियो । प्रहरीका अनुसार उपचारकै क्रममा उहाँको मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।