इटहरी । सुनसरीको इटहरीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट इनरुवातर्फ जाँदै गरेको मोटरसाइकल इटहरी उपमहानगरपालिका–७ र १७ को सिमानामा रहेको कल्भर्टमा अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा इनरुवा नगरपालिका–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी रहनुभएको छ । रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत कर्मचारी हुनुहुन्थ्यो । दुर्घटना राति करिब २ बजे भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी सुवास हमालले बताउनुभयो ।
दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि राति नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा उहाँहरूलाई बिहान ५ बजे मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।


