इटहरी स्  महिलालाई वित्तीय पहुँचमा जोड्दै उद्यमशीलता र स्वरोजगारका अवसर विस्तार गर्ने योजनासहित राधिका चुडाल हुमागाईं सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको महिला सदस्य पदमा उम्मेदवार बनेकी छन्।

नेपालकै उत्कृष्ट सहकारीमध्ये एकका रूपमा रहेको सहारा नेपालको आगामी असोज १० गते हुने निर्वाचनमा उम्मेदवारी दिएकी चुडालले सहकारीको साख जोगाउन सक्रिय, जुझारु र उद्यमशील नेतृत्व आवश्यक रहेको बताएकी छन्। महिला सशक्तीकरण, वित्तीय सेवामा महिलाको सहज पहुँच, महिला उद्यमशीलता, सहकारीमार्फत रोजगारी तथा स्वरोजगार सिर्जना र सदस्यको बचत तथा कर्जाका रूपमा परिचालित पुँजीको सुरक्षालाई उनले आफ्नो प्राथमिकतामा राखेकी छन्। वित्तीय क्षेत्रमा उनको अनुभव पनि छ। बिर्तामोड उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य तथा सहकोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी चुडाल हाल महिला उद्यमी समूहको अध्यक्ष छिन्। उनले राधाकृष्ण गिफ्ट हाउस सञ्चालन गर्दै महिला आयआर्जनको क्षेत्रमा समेत काम गर्दै आएकी छन्।

उनको बुझाइमा आर्थिक रूपमा विपन्न महिलालाई रोजगारी र स्वरोजगारसँग नजोडेसम्म महिला सशक्तीकरणको अभियान नारामै सीमित हुन्छ। त्यसैले महिला उद्यमी समूहको नेतृत्वमा रहँदा उनले सीपमूलक तालिम, व्यवसाय प्रवर्द्धन, विपन्न विद्यार्थीलाई सहयोग, सचेतना, सरसफाइ तथा सामाजिक सहकार्यका कार्यक्रम सञ्चालन गर्दै आएको बताएकी छन्। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने विषयलाई उनले सहकारीको नीतिसँग पनि जोड्न खोजेकी छन्। बैंक तथा वित्तीय संस्थाबाट महिलाले सञ्चालन गरेका २० लाख रुपैयाँसम्मका पेसा, व्यवसाय तथा लघुउद्यमलाई प्रकृति र अवस्थाका आधारमा मूल्यांकन गरी ब्याजमा पूर्ण वा ५० प्रतिशतसम्म अनुदान दिने कार्यक्रम ल्याउनुपर्ने उनको धारणा छ।

‘महिला सशक्तीकरण’लाई वित्तीय आत्मनिर्भरतासँग जोड्नुपर्ने बताउँदै चुडालले सहकारीको पूँजी उत्पादनमूलक क्षेत्रमा परिचालन, सदस्यको बचतको सुरक्षा र कर्जाको प्रभावकारी सदुपयोगलाई पनि आफ्नो प्राथमिकतामा राखेकी छन्। सहारा नेपालको सञ्चालक समितिमा पुग्न खोजेकी चुडालको उम्मेदवारीसँगै सहकारी नेतृत्वमा महिलाको प्रतिनिधित्वसँगै महिला उद्यमशीलता र वित्तीय पहुँचका विषय पनि बहसमा आएका छन्।