इटहरी स्  विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ स्थित पोखरीया स्कुलनजिकै शनिबार बिहान करिब १ः५५ बजेतिर को ५ प २१७० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार कञ्चनबारीबाट भट्टा चोकतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकछेउको बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक विराटनगर–९ बसपार्कका ४५ वर्षीय रविकुमार कामत गम्भीर घाइते भएका थिए ।

घाइते कामतलाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा बिहान करिब २ः३० बजे उनको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए । दुर्घटना के कारणले भएको हो भन्ने बारेमा प्रहरीले यकिन गर्न सकेको छैन । मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।