इटहरी : आठ वर्षीया आस्वानालाई गोमन सर्पले डस्यो । परिवारले समय खेर नफाली उनलाई उपचारका लागि दौडायो ।

इटहरी–५ का आश्विन चौहानकी छोरी आस्वानालाई बुधबार साँझ करिब ५ः३० बजे सर्पले डसेको थियो । सर्पले डसेको थाहा पाएको करिब १५ मिनेटमै परिवारले उनलाई सेनाको सर्पदंश उपचार केन्द्र इटहरी पु¥यायो । तर, त्यहाँ १२ वर्षमुनिका बालबालिकाको उपचार नहुने जानकारी पाएपछि परिवारले उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥यायो । धरान पुगेपछि पनि उपचारका लागि आवश्यक पीआईसीयू खाली नभएको भन्दै उनलाई अन्यत्र लैजान भनियो । त्यसपछि परिवारले आस्वानालाई विराटनगरतर्फ दौडायो ।

इटहरीबाट धरान र धरानबाट विराटनगर पु¥याउँदा साँझ करिब ७ बजिसकेको थियो । विराट मेडिकल कलेज पु¥याएलगत्तै आस्वानाको मृत्यु भयो । आस्वानालाई बचाउन परिवारले अस्पताल खोज्दै दौडधुप गरे पनि उपचारका लागि आवश्यक सुविधा भएको अस्पताल समयमै नपाउँदा आठ वर्षीया बालिकाले अकालमै ज्यान गुमाउनुप¥यो । ‘घरमा बसिरहेका बेला आस्वानालाई सर्पले डसेको थाहा पायौँ, १५ मिनेटभित्रै सेनाको सर्पदंश उपचार केन्द्र इटहरी पु¥यायौँ,’ मृतक बालिकाका काका मणीले भने ।  । धरानमा पनि आईसीयू र भेन्टिलेटर सेवा नभएकाले अन्यत्र लैजान भनिएपछि विराटनगर पु¥याउँदा बालिकाको मृत्यु भएको मणीले बताए ।‘सर्पदंश उपचार केन्द्रबाटै धरान लैजानु भनेकाले विश्वास गरेर लग्यौँ, त्यहाँ उपचार भएन, फेरि विराटनगर लादा उपचार गर्न नै पाएनौँ,’ उनले नागरिकसँग टेलिफोनमा भने ।

आस्वानाको घटना सुनसरीमा सर्पदंशका बिरामीले उपचारका क्रममा भोग्दै आएको समस्याको एउटा उदाहरण हो । पूर्वी तराईमा वर्षायामसँगै सर्पदंशका घटना बढ्ने गरे पनि सबै अस्पतालमा बालबालिकासहित गम्भीर अवस्थाका बिरामीको उपचार गर्न आवश्यक सुविधा उपलब्ध छैन । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता प्राध्यापक डाक्टर शम्शेर श्रेष्ठले पीआईसीयू खाली नभएकाले आस्वानालाई रेफर गर्नुपरेको बताए । उनका अनुसार प्रतिष्ठानमा चारवटा पीआईसीयू छन् । पीआईसीयू खाली भएको भए बालिकालाई तत्काल उपचार गर्न सकिने उनले बताए । इटहरीको सामुदायिक सर्पदंश उपचार केन्द्रका अध्यक्ष दिवस पोखरेल पनि बालबालिकाको उपचारका लागि आवश्यक पूर्वाधार र जनशक्ति पर्याप्त नभएको बताउँछन् ।

 इटहरी–६ का वडाध्यक्षसमेत रहेका पोखरेलले भने, सुनसरीमा सर्पदंशका बिरामीको संख्या भने ठूलो छ । वैशाखदेखि साउनसम्म मात्रै इटहरीको सर्पदंश उपचार केन्द्रमा ८२२ जना बिरामीले उपचार गराएका छन् । उपचार गराउनेमा ३८६ जना पुरुष र ४३६ जना महिला छन् । केन्द्रका अनुसार भदौ महिनाको २५ दिनमा मात्रै २२३ जनाले उपचार पाएका छन् । इटहरीको सामुदायिक सर्पदंश उपचार केन्द्रमा नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टरले एमडी डाक्टरको नेतृत्वमा सेवा दिँदै आएको छ ।

२०६९ सालदेखि सञ्चालनमा रहेको केन्द्रमा २०६९ देखि २०८२ सालसम्म १८ हजार ८३ जनाले सर्पदंशपछि उपचार गराएका छन् । तर, बालबालिकाका लागि आवश्यक उपचार सुविधा नहुँदा समस्या कायमै छ । बालबालिकाले आफ्नो अवस्था र लक्षण स्पष्ट रूपमा बताउन नसक्ने भएकाले उनीहरूको उपचार थप चुनौतीपूर्ण हुने गरेको केन्द्रले जनाएको छ । आस्वानाको मृत्यु हुनुभन्दा केही दिनअघि मात्रै सुनसरीमा अर्को बालिकाले पनि सर्पदंशकै कारण ज्यान गुमाएकी थिइन् । भदौ ९ गते बराहक्षेत्र नगरपालिका–३ नडाहमा नौ वर्षीया आवन्तीलाई गोमन सर्पले डसेको थियो । घरको कोठामा बसेर स्कुलको होमवर्क गरिरहेकी आवन्तीलाई गोमन सर्पले बायाँ खुट्टामा डसेको थियो ।

उनलाई तत्काल उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइए पनि उपचारकै क्रममा सोही दिन राति चिकित्सकले मृत घोषणा गरेका थिए । यस्तै, भदौ १५ गते भारत घर भई धरान उपमहानगरपालिकामा बस्दै आएकी आठ वर्षीया विभा मुखिया र भदौ ७ गते बर्जु गाउँपालिकामा बस्ने चार वर्षीया रकी ऋषिदेवको पनि सर्पदंशबाट मृत्यु भएको थियो । वैशाख १२ गते बराहक्षेत्र नगरपालिकाका ७५ वर्षीय सम्रु उरावले पनि सर्पदंशकै कारण ज्यान गुमाएका थिए । यसरी यो वर्ष सुनसरीसहित पूर्वी क्षेत्रमा सर्पदंशका घटनामा पाँच जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा चार बालिका र एक वृद्ध छन् । भदौ महिनामा मात्रै चार जनाले ज्यान गुमाएका छन् । सर्पदंशको उपचारका लागि सुनसरीमा इटहरीको सेनाको सर्पदंश उपचार केन्द्र र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रमुख उपचार केन्द्रका रूपमा रहेका छन् ।

तर, गम्भीर अवस्थामा रहेका बालबालिकाका लागि आवश्यक आईसीयू, पीआईसीयू, भेन्टिलेटर र जनशक्तिको अभावले उपचारमा समस्या देखिने गरेको छ । पूर्वमा झापाको चारआलीमा नेपाली सेनाले सर्पदंशका बिरामीको उपचार गर्दै आएको छ । बिर्तामोडका बीएन्डसी, बिर्ता सिटी र मनमोहन अस्पतालले पनि सर्पदंशका बिरामीको उपचार गर्ने गरेका छन् । दमकमा पनि निजी अस्पतालले सर्पदंशका बिरामीको उपचार गर्दै आएका छन् । विराटनगरका कोशी अस्पताल, नोबेल अस्पताल, ग्रीन क्रस र विराट नर्सिङ होमले पनि सर्पदंशका बिरामीको उपचार गर्ने गरेका छन् । उदयपुर र उत्तरी मोरङको लेटाङमा पनि नेपाली सेनाले सर्पदंशका बिरामीको उपचार गर्दै आएको छ । कोशी प्रदेशमा सेना, सरकारी अस्पताल र निजी अस्पतालबाट सर्पदंशको उपचार हुँदै आए पनि सबै ठाउँमा आवश्यक पूर्वाधार र जनशक्ति नहुँदा बिरामीलाई उपचारका लागि अर्को अस्पतालमा लैजानुपर्ने अवस्था छ ।

सर्पले डसेपछि पहिलो केही समय निकै महत्वपूर्ण मानिन्छ । तर, उपचारका लागि उपयुक्त अस्पताल खोज्दै बिरामीलाई एक ठाउँबाट अर्को ठाउँ लैजानुपर्ने बाध्यता हुँदा यही महत्वपूर्ण समय यात्रामै बित्ने गरेको छ । आस्वानाको परिवारले पनि त्यही दौड दौडियो । इटहरीको घरबाट सुरु भएको त्यो दौड धरान हुँदै विराटनगरसम्म पुग्यो । परिवारसँग आशा थियो–कतै न कतै उपचार होला, छोरी बच्लिन् । तर, अस्पतालको ढोका खोज्दै दौडिएको केही घण्टा नै आस्वानाका लागि जीवन र मृत्युबीचको समय बन्यो । उपचारको सुविधा भएको ठाउँ पुग्दा धेरै ढिला भइसकेको थियो । अन्ततः आठ वर्षीया आस्वानाको मृत्युले सर्पदंशको उपचारमा आवश्यक पूर्वाधार, जनशक्ति र तत्काल उपचार सेवाको अभाव सुनसरीका परिवारका लागि कति पीडादायी बन्न सक्छ भन्ने देखाएको छ । सर्पले डसेपछि बिरामीका आफन्तले अस्पताल खोज्दै दौडिनुपर्ने होइन, नजिकैको अस्पतालमै तत्काल उपचार पाउने अवस्था बन्नुपर्ने हो ।