इटहरी। भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता हुनुभएका उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहा लाइनटोलका ४२ वर्षीय देवेन्द्र घिमिरेको कुशको शव बनाएर हिन्दू धर्म परम्पराअनुसार स्थानीय त्रियुगा नदी किनारको घाटमा दाहसंस्कार गरिएको छ ।
बाढीमा बेपत्ता भएको १८ दिन बितिसक्दा पनि छोरा सम्पर्कमा नआएको र खोजतलास गर्दा पनि कतै फेला नपरेपछि सनातन धर्म परम्पराअनुसार कुशको शव बनाएर त्रियुगा नदीको घाटमा अन्तिम संस्कार गरिएको घिमिरेका बुवा उद्धव घिमिरेले बताउनुभयो । उहाँका अनुसार शनिबारदेखि १३ दिने काजक्रिया सुरु गरिएको छ । कुशबाट बनाइएको स्वर्गीय घिमिरेको पार्थिव शरीरमा उहाँका छोरा उज्ज्वल घिमिरेले दागबत्ती दिनुभएको थियो । स्वर्गीय घिमिरेका श्रीमती, एक छोरा, एक छोरी तथा बुवाआमा हुनुहुन्छ ।


