इटहरी। सडक छेउछाउमा रहेका खाली जग्गाको सदुपयोग गर्न धनकुटा नगरपालिकाले बेसार खेती विस्तार सुरु गरेको छ ।
स्थानीय किसान र सामुदायिक वन समूहलाई कृषि खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले नगरपालिकाका सडक छेउमा खाली रहेका जग्गमा बेसार खेती विस्तार गरेको हो । बेसार खेतीसँगै सडक क्षेत्रलाई हरियाली, स्वच्छ र आकर्षक बनाउन नमुनाका रूपमाबेसार खेती सुरु थालिएको छ । कोशी राजमार्गअन्तर्गत धनकुटा नगरमा पर्ने सरस्वती चोक–सल्लेरी खण्डको किनारामा बेसार खेती गरिएको छ । धनकुटा नगरपालिका वातावरण शाखा प्रमुख उपेन्द्र खनालका अनुसार नगरभित्रका विभिन्न भित्री सडक किनारमा रहेका खाली ठाउँमासमेत बेसार रोपिएको छ । उहाँका अनुसार सरस्वती चोक सल्लेरी खण्ड र नगरभित्र सडकमा गरी करिब सात रोपनी क्षेत्रफलमा बेसार खेती विस्तार गरिएको हो ।
बेसार खेतीबाट तत्काल आम्दानी गर्नेभन्दा पनि सडक किनार र अन्य खाली जमिनको सदुपयोग गर्नु रहेको उहाँले बताउनुभयो । सडक छेउमा रहेका खाली जग्गामा बेसार खेती सुरु गरिएपछि मनोरम देखिन थालेको छ । बेसार खेती खाली जमिनको सदुपयोग र आम्दानीलाई समेत जोड्ने बताइन्छ । पछिल्लो समय बाँदर आतङ्कले पीडित बनेका किसानले बेसारमा भने कुनै पनि जनावारले विनाश तथा क्षति नगर्ने बताएका छन् । बेसार खेतीमार्फत स्वच्छता, सुन्दरता र हरियाली प्रवर्द्धनसँगै स्थानीय समुदायलाई खाली जमिनमा उत्पादनमूलक काम गर्न प्रेरित गर्ने लक्ष्य राखिएको छ । खाली ठाउँको सदुपयोग गर्दै सामुदायिक वन र किसान समूहलाई समेत खेतीतर्फ प्रेरित गर्ने उद्देश्यले नमुनाका रूपमा बेसार खेती सुरु गरिएको नगरपालिकाले बताएको छ ।
नगरले अहिले सुरु गरेको बेसार खेतीबाट उत्पादन हुने बीउ आगामी दिनमा नगरभित्रका सरकारी, ऐलानी तथा प्रति जग्गामा खेती विस्तार गर्न प्रयोग गर्ने तयारी गरेको छ । उत्पादन भएको बेसार खेती विस्तार गर्न चाहने किसान, कृषक समूह तथा सामुदायिक वनलाई वितरण गरिने नगरपालिकाले जनाएको छ । बेसार खेतीका लागि नगरपालिकाले गत आर्थिक वर्षमा प्रतिकिलो एक सय रुपियाँका दरले एक सय किलो बेसारको बीउ खरिद गरेको थियो ।
नगरपालिकाको स्वरोजगार कार्यक्रममा आबद्ध व्यक्तिहरूलाई बेसारको गोडमेल तथा हेरचाहमा परिचालन गरिएको वातावरण शाखा प्रमुख खनालले बताउनुभयो । स्वरोजगार कार्यक्रममा आवद्ध व्यक्तिहरूले बेसारको गोडमेलसँगै सडक क्षेत्रको सरसफाइ, फलफूलका बिरुवा रोप्ने तथा छाँटकाँट गर्नेलगायतका कामसमेत गर्दै आएका छन् । सडक किनारमा सुरु गरेको बेसार खेतीलाई आगामी दिनमा थप क्षेत्रमा विस्तार गर्ने योजना बनाएको बताइएको छ ।


