इटहरी। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले एक वर्षको अवधिमा करिव आठ किलोमिटर सडकमा सोलिङ निर्माण गरेको छ । गत आर्थिक वर्षमा गाउँपालिकाले पालिका क्षेत्रका सडकहरू सोलिङ गरेको हो । 

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार एक वर्षमा आठ किलोमिटर बढी सडकमा सोलिङ अर्थात स्तरोन्नतिको कार्य गरिएको हो । पालिकाका छ वटै वडाका मुख्य सडकहरू सोलिङ गरिएको गाउँपालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । हिउँद र बर्खा दुवै मौसममा यातायात सञ्चालन हुनेगरी सडकमा सोलिङ गरिएको उहाँले बताउनुभयो । प्रत्येक वडामा पालिका कार्यालय आउजाउ गर्ने मुख्य सडकहरू स्तरोन्नति अर्थात सलिङ गरिएको गाउँपालिका अध्यक्ष वनेमको भनाइ छ ।

सोलिङ गरेर सडक स्तरोन्नति गरिएसँगै यसवर्ष बर्खायाममा समेत यातायातका साधन सञ्चालनमा सहज भएको गाउँपालिकाले जनाएको छ । पालिकाभित्रका ग्रामीण सडकसँगै मदन भण्डारी राजमार्गको साँघु–झ्याउँपोखरी–गुफा सडक खण्डको स्तरोन्नति गरिएको पालिकाले जनाएको छ । मैवाखोलाबाट गुफा–बसन्तपुर–धनकुटा हुँदै तराईको धरानसम्म यात्रा गर्ने यात्रुको सहजताका लागि साँघु–झ्याउँपोखरी–गुफा सडक स्तरोन्नति गरिएको वनेमले बताउनुभयो । उक्त सडक खण्डमा हिलाम्मे र खाल्डाखुल्डी भएको ठाउँमा सोलिङसहित सडक स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नति गरेका कारण साँघु–धरान, धरान–साँघु बस तथा जिप सञ्चालनमा सहज भएपछि यात्रुलाई सुविधा भएको पनि उहाँको भनाइ छ । गाउँपालिकाले सडक स्तरोन्नतिसँगै गत आवमा करिब अढाई किलोमिटर सडकको नयाँ ट्रयाकसमेत निर्माण गरेको जनाएको छ ।

पालिकाभित्र आवश्यक ठाउँमा सडकको नयाँ ट्रयाक निर्माण गरेको बताइएको छ । यस्तै गत आवमा गाउँपालिकाले दुई वटा खेल मैदान निर्माण कार्य पूरा गरेको छ । वडा ३ र ४ साँघुमा निर्माणाधीन अवस्थामा रहेको स्वास्थ्य संस्था भवनहरू पनि निर्माण कार्य सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ । त्यस्तै, गाउँपालिकाको प्रशासकीय भवन, बहुउद्देश्यीय कर्भड हल निर्माण, ५४ फिट अग्लो सिलाम साक्माको प्रतिमा, एक विद्यालयको चारकोठे भवनको निर्माणको काम सम्पन्न हुने चरणमा पुगेको पनि पालिकाले जनाएको छ । गत आर्थिक वर्षमा पूर्वाधारतर्फ विभिन्न ५५ वटा योजनाहरू सम्पन्न भएको पालिकाको दाबी छ ।