इटहरी। इलामको माई नगरपालिका–९ स्थित सोक्तिमभ्याली सामुदायिक वनमा सालको रुख कटान गरी चिरान गर्ने दुई जना पक्राउ परेका छन्।
डिभिजन वन कार्यालय इलामले विशेष सूचनाका आधारमा रुख काटी चिरान गरिरहेको अवस्थामा माई नगरपालिका–९ विष्टगाउँका ५६ वर्षीय राजेन्द्र राई र सोही स्थानका ५० वर्षीय पेम्बा हेल्मुलाई पक्राउ गरेको हो। डिभिजन वन कार्यालय इलामका वन अधिकृत तथा सूचना अधिकारी भुवनमणि शर्माको नेतृत्वमा माई सबडिभिजन वन कार्यालय, सुखानीका वनरक्षकसहितको संयुक्त गस्ती टोलीले वन क्षेत्रमा गस्ती गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको वन अधिकृत शर्माले जानकारी दिनुभयो।
घटनास्थलबाट साल जातको चार वटा गोलिया र चिरान गर्दै गरेको दुई वटा फक्लेटासहित ६ थानमा ३३।५३ घनफिट तथा चिरान भइसकेको आठ थानमा ८।१७ घनफिट गरी जम्मा १४ थानमा ४१।७० घनफिट काठ बरामद गरिएको छ। यस्तै, काठ कटान तथा चिरानमा प्रयोग भएको एउटा चिरान आरा, एउटा गल, आराको दाँत मिलाउने एउटा नारिस, एउटा मिटर टेप र एउटा दाउसमेत बरामद गरिएको वन कार्यालयले जनाएको छ।
बरामद काठको बिगो ५६ हजार २१० रुपियाँ कायम गरिएको छ। घटनाका सम्बन्धमा थप क्षतिको जाँचबुझ गर्नुका साथै घटनामा संलग्न अन्य व्यक्तिको समेत खोजी भइरहेको वन अधिकृत शर्माले जानकारी दिनुभयो। डिभिजन वन कार्यालय इलामले तराईसँग जोडिएका सामुदायिक वन क्षेत्रमा विशेष निगरानी गर्दै आएको जनाएको छ।


