इटहरी । मध्यपहाडी राजमार्ग अन्तर्गत पाँचथर र तेह्रथुम जोड्ने मोटरेबल पुल नदी कटान र बाढीका कारण जोखिममा परेको छ । पुलको पाँचथरतर्फको भाग ढुङ्गा, बालुवा र लेदोले पुरिँदै गएको छ भने तेह्रथुमतर्फ नदीले पुलको जग आसपास निरन्तर कटान गरिरहेको छ । पुलको मध्यभागमा पानीको बहाव बढ्दा नदी गहिरिने र बाढीका बेला ढुङ्गा, गिट्टी तथा बालुवाले नदीको सतह पुरिने गरेका कारण पिल्लरसमेत जोखिममा परेका छन् ।
पुलआसपास नदीजन्य पदार्थ उत्खनन गर्ने व्रmम नरोकिएकाले जोखिम थप बढेको स्थानीयको भनाइ छ । स्थानीय राम माझीका अनुसार पुलको एकातर्फ जग पुरिँदै गएको छ भने अर्कोतर्फ नदी कटान तीव्र भइरहेका बेला दायाँबायाँ एक्साभेटर प्रयोग गरेर ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरिन्छ । पुल संरक्षण र दिगोपनाका लागि सङ्घीय सरकार, पुल सेक्टर आयोजना र सडक डिभिजनसँग बजेट व्यवस्थापनको माग गरिए पनि सुनुवाइ नभएको तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो । हेवाखोलातर्फ भने सडक डिभिजन इलामले बाँध बाँधेर कटान रोकथामको प्रयास गरेको छ । गत वर्ष पाँचथर र तेह्रथुमका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहका जनप्रतिनिधिको टोलीले स्थलगत अध्ययन गरी मध्यपहाडी राजमार्ग आयोजना र सङ्घीय सरकारलाई पत्राचार गरेको थियो । त्यसको हालसम्म प्रतिव्रिmया नआएको उहाँले बताउनुभयो । पुलको मर्मत तथा संरक्षणको जिम्मेवारी सङ्घीय सरकार र मध्यपहाडी राजमार्ग आयोजनाको हो ।
यातायातको महत्त्वपूर्ण मार्ग
मेची राजमार्ग र तमोर कोरिडोरका विभिन्न स्थान बर्खायाममा बाढीपहिरोका कारण अवरुद्ध हुने गरेकाले पाँचथर–तेह्रथुम जोड्ने यो पुल वैकल्पिक यातायातका लागिसमेत महत्त्वपूर्ण बनेको छ । दुवै सडक अवरुद्ध हुँदा पाँचथरको फिदिमबाट जोरशाल–चुहानडाँडा–सङ्क्रन्ति, औँसी भन्ज्याङ–म्याङलुङ–वसन्तपुर–भेडेटार हुँदै धरान र त्यसपछि झापा तथा विराटनगरतर्फ जाने सवारीसाधनले यही मार्ग प्रयोग गर्छन् । सामान्य अवस्थामा पनि झापाको बिर्तामोडदेखि पाँचथरको फिदिम हुँदै तेह्रथुमको आठराई र फेदापका बजारमा दैनिक उपभोग्य बस्तु ढुवानी गर्ने मुख्य मार्ग मध्यपहाडी राजमार्ग हो । अधिकांश त ताप्लेजुङको आठराई त्रिवेणीदेखि दोभान हुँदै सदरमुकाम फुङलिङसम्म जान पनि यो बाटो प्रयोग गर्छन् ।
तमोर कोरिडोर अन्तर्गत धनकुटा–पाँचथर सीमावर्ती नावा खोलामा पुल निर्माण नभएको र पाँचथर–इलाम हुँदै झापा जाने खण्डको माइखोला राजदुवाली खण्डमा पहिरोले सडक पटक पटक अवरुद्व हुँदा विकल्पका रूपमा समेत पुल भएर मध्यपहाडी सडकलाई विकल्पका रूपमा लिने गरिन्छ । २०६६ सालमा निर्माण सुरु भएर २०७० सालमा सम्पन्न भएको पुल तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको १५ करोड १७ लाख रुपियाँ लागतमा बनेको हो । पुलबाट दैनिक तीन सयभन्दा बढी ठुला, मझौला तथा साना सवारीसाधन आवतजावत गर्छन् । पुलको लम्बाइ दुई सय मिटर छ । एक हजार ७६५ किलोमिटर लामो मध्यपहाडी राजमार्गको पूर्वी खण्डमा ६८१ किलोमिटर सडक पर्छ । पाँचथरको चिवाभन्ज्याङदेखि बैतडीको झुलाघाटसम्म निर्माण भएका करिब चार सय पुलमध्ये पाँचथर–तेह्रथुम जोड्ने यो पुल सबैभन्दा लामो हो । यसपछि सुनकोशी नदीमा निर्मित १७० मिटर लामो पुल दोस्रो ठुलो रहेको मध्यपहाडी राजमार्ग आयोजनाले जनाएको छ । समयमै संरक्षण र मर्मत नभए पुलमा यातायात सञ्चालन प्रभावित भई पाँचथर र तेह्रथुमसँगै मध्यपहाडी राजमार्गले जोड्ने अन्य जिल्लाको यातायात सम्पर्कसमेत प्रभावित हुन सक्ने भएकाले दिगो व्यवस्थापनतर्फ योजना अघि बढाउनुपर्ने आठराई गाउँपालिका–१ का वडाध्यक्ष कृष्ण बाँस्कोटा बताउनुहुन्छ ।


