इटहरी स् दशैँ आउन अब धेरै समय बाँकी थिएन। घरमा चाडपर्वको तयारी सुरु हुँदै थियो। परिवारका सदस्यहरूबीच भेटघाट र कुराकानीका योजना बन्दै थिए।
सुनसरीको बराहक्षेत्र नगरपालिका–३ की २२ वर्षीया रुबिना धामी पनि यसपालि दशैँमा घर आउने तयारीमा थिइन्। रसुवाको होटेलमा काम गर्दै आएकी रुबिनाले परिवारलाई काम सकेर दशैँमा घर आउने र त्यसपछि विदेश जाने तयारी गर्ने बताएकी थिइन्। तर अहिले दशैँ आउनुअघि नै उनको घरमा सन्नाटा छाएको छ। रसुवामा आएको विनाशकारी बाढीपछि रुबिनासहित बराहक्षेत्रका पाँच जना स्थानीय १२ दिनदेखि परिवारको सम्पर्कमा छैनन्। बाढी आउनुभन्दा एक दिनअघि मात्र रुबिनाले आमाबुवासँग फोनमा कुराकानी गरेकी थिइन्। त्यो कुराकानी नै परिवारले छोरीको आवाज सुनेको पछिल्लो क्षण बन्यो। त्यसपछि उनको फोन सम्पर्कविहीन भयो। दिन बित्दै गए, तर छोरीको कुनै खबर आएन। फोनको घण्टी बज्दा पनि परिवारको मन झसङ्ग हुन्छ। कतै रुबिनाकै खबर पो आयो कि भन्ने आशा पलाउँछ। तर अहिलेसम्म त्यो आशालाई साकार पार्ने खबर आएको छैन।
रुबिना परिवारकी कान्छी छोरी हुन्। बराहक्षेत्रकै महेन्द्र माध्यमिक विद्यालयबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेकी उनी दुई वर्षदेखि रसुवामा होटेलमा मजदुरी गर्दै आएकी थिइन्। गएको चैतमा मात्र उनी गाउँ फर्किएकी थिइन्। केही समय परिवारसँग बसेर फेरि कामका लागि रसुवा गएकी थिइन्। परिवारलाई उनको कमाइभन्दा पनि सुरक्षित भविष्यको चिन्ता थियो। आमाबुवाले घरमै फर्किएर खेतीपाती गरेर बस्न सम्झाउँथे। दिदीहरूले पनि गाउँमै बसेर केही काम गर्न आग्रह गर्थे। तर रुबिनाको मनमा आफ्नै भविष्य बनाउने सपना थियो। ‘दिन र रातमा सधैँ फोनमा कुरा भइरहन्थ्यो,’ रुबिनाकी जेठी दिदी सबिना धामीले भावुक हुँदै भनिन्, ‘यसपालि दशैँमा घर आउने र फेरि रसुवा नजाने योजना थियो।’ सबिनाले पनि बहिनीलाई पटक–पटक गाउँमै बसेर काम गर्न भनेकी थिइन्। ‘यहीँ काम गर भनेर मैले धेरैपटक भनेकी थिएँ,’ उनले भनिन्, ‘तर होटेल साहुले बोलाएको बोलायौ गरेपछि उनी फेरि त्यतै गइन्।’ त्यतिबेला परिवारले पनि कल्पना गरेको थिएन—कामका लागि रसुवा फर्किएकी छोरी एक दिन सम्पर्कविहीन हुनेछिन् र उनको खोजीमा आमाबुवाले काठमाडौँसम्म पुग्नुपर्नेछ भनेर।
रुबिनाको अर्को सपना विदेश जाने थियो। रसुवामा काम गरेर केही पैसा जम्मा गर्ने र त्यसपछि विदेश जाने योजना उनले बनाएकी थिइन्। विदेश जानका लागि पासपोर्टसमेत बनाइसकेकी थिइन्। ‘भयो भने उतैबाट विदेश जान्छु, नभए दशैँमा आएर विदेश जाने तयारी गर्छु,’ रुबिनाले परिवारसँग भनेकी थिइन्। होटेल सञ्चालकसँगको हिसाब–किताब चुक्ता गरेपछि घर फर्किने उनको योजना थियो। दशैँमा केही समय परिवारसँग बिताउने र त्यसपछि आफ्नो भविष्य बनाउन विदेश जाने उनको सोच थियो। परिवारका लागि त्यो एउटा सामान्य योजना थियो। छोरी केही दिनमा घर फर्किन्छे, घरमा चाडपर्वको खुसी थपिन्छ र फेरि आफ्नो बाटो लाग्छे भन्ने विश्वास थियो। तर अहिले त्यही योजना एउटा अनिश्चित प्रतीक्षामा बदलिएको छ। बाढी आउनुभन्दा एक दिनअघिसम्म परिवारसँग नियमित कुराकानी गरिरहेकी रुचिनासँग त्यसपछि सम्पर्क हुन सकेन। बाढी आएको खबरसँगै परिवारको मनमा डर पस्यो। एक दिन बित्यो। दुई दिन बित्यो। दिनहरू थपिँदै गए। अहिले १२ दिन बितिसक्दा पनि रुबिनाको कुनै खबर छैन। छोरीको अवस्था पत्ता लगाउन उनका बुवा देवकुमार धामी र आमा भगवती धामी ६ दिनअघि काठमाडौँ पुगेका छन्। हराइरहेकाहरूको पहिचानका लागि उनीहरूले डिएनए परीक्षणका लागि नमुनासमेत दिएका छन्।
छोरीको खोजीका लागि काठमाडौँ पुगेपछि उनीहरू रसुवातर्फ जाने प्रयासमा थिए। तर बाढी र पहिरोका कारण सडक अवरुद्ध भएकाले उनीहरू काठमाडौँमै रोकिएका छन्। काठमाडौँ पुगेका आमाबुवाको मन भने त्यहाँ पनि अडिएको छैन। उनीहरूको ध्यान एउटै कुरामा छ—छोरी कहाँ छिन्रु उनीहरूलाई अहिले ठुलो कुरा केही चाहिएको छैन। छोरी सकुशल छिन् भन्ने एउटा खबर भए पुग्छ। कम्तीमा उनको अवस्था यकिन हुने सूचना भए पनि उनीहरूका लागि ठुलो राहत हुनेछ। तर अहिलेसम्म उनीहरूले पर्खिरहेको त्यो खबर आएको छैन। रुबिनाका दिदीबहिनी माइती आएका बेला धामी परिवारमा खुसीको माहौल थियो। दशैँ नजिकिँदै थियो। रुबिना पनि घर आउने कुरा गरिरहेकी थिइन्। तर अहिले त्यही घरमा खुसीभन्दा चिन्ता ठुलो भएको छ। दशैँमा छोरी आउने भनेर बाटो हेर्नुपर्ने आमाबुवाले अहिले छोरी कहाँ छिन् भनेर खबर पर्खिरहेका छन्। घरमा उनको सम्झना झन् गाढा हुँदै गएको छ। कुराकानीमा उनको नाम आउँछ। फोन बज्दा आशा पलाउँछ। तर केही क्षणमै त्यो आशा फेरि निराशामा बदलिन्छ।
रुबिनाले घरमा आउने निश्चित मिति तय गरेकी थिइनन् होला, तर परिवारको मनमा भने उनको आगमनको चित्र बनिसकेको थियो। दशैँमा छोरी घर आउँछे, परिवारसँग बस्छे, सुख दुःखका कुरा हुन्छन् र केही समयपछि विदेश जाने तयारी गर्छे भन्ने सपना थियो। अहिले त्यो सपना कहाँ रोकिएको छ, कसैलाई थाहा छैन। स्थानीय पालिकाले खोजी तथा राहतमा लाग्ने खर्च बेहोर्ने आश्वासन दिए पनि अहिलेसम्म कुनै सहयोग प्राप्त नभएको परिवारको गुनासो छ। रुबिनासहित बराहक्षेत्रका पाँच जना बेपत्ताको अवस्था तत्काल सार्वजनिक गर्न, खोजी तथा उद्धारलाई तीव्र बनाउन र परिवारलाई आवश्यक सूचना उपलब्ध गराउन पीडित परिवारले सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन्। १२ दिनदेखि एउटा परिवारले एउटै खबर पर्खिरहेको छ। फोनको प्रतीक्षा। खबरको प्रतीक्षा। र सबैभन्दा ठुलो—छोरी फर्किने प्रतीक्षा। रुबिना घरबाट कामका लागि रसुवा गएकी थिइन्। उनको उद्देश्य परिवारबाट टाढा हुनु थिएन। केही समय काम गर्ने, पैसा कमाउने, विदेश जाने र आफ्नो भविष्य बनाउने सपना थियो। दशैँमा घर फर्किने योजना थियो। तर अहिले उनको घर फर्किने बाटो परिवारले होइन, उद्धार तथा खोजीमा खटिएका निकायले खोजिरहेका छन्।
धामी परिवारसँग अहिले कुनै निश्चित उत्तर छैन। उनीहरूसँग बाँकी छ त केवल आशा। सायद कुनै दिन फोन आउला। सायद उताबाट रुबिनाकै आवाज सुनिएला। सायद १२ दिनदेखि बेचैन बनेका आमाबुवाले फेरि छोरीको आवाज सुन्न पाउलान्। त्यही आशामा परिवार बसेको छ। दशैँमा घर आउने वाचा गरेकी रुबिनाका आमाबुवाले अहिले दशैँभन्दा पहिले नै एउटा खबर सुन्न चाहेका छन्—‘रुबिना भेटिइन्।’ त्यो एउटा खबरले १२ दिनदेखि बेचैन बनेको एउटा परिवारको प्रतीक्षा रोक्नेछ। त्यसैले धामी परिवारको आशा अझै मरेको छैन। उनीहरू अझै पनि छोरी फर्किने बाटो हेरिरहेका छन्।


